काठमाडौं। गत मंगलबार देखि अचानक मौसममा फेरबदल देखिंदै देशका विभिन्न स्थानमा भारीदेखि मध्यम वर्षा भैरहेको छ।
मंगलबार र बुधबार देशका धेरैजसो भुभागमा वर्षा भयो। बिहीबार देशको पश्चिमी क्षेत्रमा वर्षा गराउने प्रणाली सर्यो। आज शुक्रबार चाहिँ कस्तो होला त मौसम?
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ। न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर हुने विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ।
कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।



