काठमाडौं। काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रसहितको एप सार्वजनिक गरेको छ।
डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरुलाई नि:शुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो।
एप सार्वजनिक गर्दै खैरेनी माध्यमिक विद्यालय सुक्लागण्डकीका पूर्वप्रधानाध्यापक केशवराज घिमिरेले श्रब्यदृश्यसहितको फ्लिप भिडियो तयार गरेर डियरवाक लर्निङ सेन्टरले डिजिटल भाषाको ढोका खोलेको बताए। उनले एपमा प्रशस्त सुधार गर्नुपर्ने भन्दै यसलाई नेपालका दूरदराजसम्म फैलाउन सुझाव दिए।
डियरवाक एजुकेसन ग्रुपका अध्यक्ष हितेश कार्कीले पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा विकसित पाठ्यक्रमका आधारमा कक्षा ४ देखि ११ सम्मका लागि भिडियो कक्षाको विकास र वितरण गरिएको जानकारी दिए।
उनले भने,‘करिब एक दशकको मेहेनतमा पहिलो चरणको सामग्रीहरु तयार गरेका छौं। एन्ड्रोइड र अफलाइन सुविधा यसमा उपलब्ध गराएका छौं। हामीले १२ देखि १८ मिनेटका श्रब्यदृश्य सामग्रीहरु एपमार्फत सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं। कुनै किताब पल्टाएजस्तै भिडियोहरु तयार गरेका छौं।
अध्यक्ष कार्कीले नेपालका दूर दराज र विश्वभर निःशुल्क उपलब्ध गराउनेगरी वेभसाइट, युट्युब, गुगल प्लेस्टोर र एपस्टोरमार्फत सामग्रीहरु हेर्न र सुन्न सकिने जानकारी दिए। साथै एपमा नयाँ र पुरानो दुवै पाठ्यक्रम राखिएको समेत बताए।
‘परिवर्तनशिल शिक्षाको अवधारणा अनुरुप परिवर्तित पाठ्यक्रमलाई मध्यनजर गरी २०७८ सालको पाठ्यक्रम र पाठ्यपुस्तक अनुरुप श्रब्यदृश्य सामग्रीहरुको परिमार्जन गरी पुनः रेकर्डिङ गरेर नयाँ एप ल्याएका हौं,’ उनले भने।
समारोहमा एजुकेट नेपालका सिइयो अशोक डल्लीले एपका फिचरहरुको प्रशंसा गरेका थिए।
४५ बढी शिक्षकहरुले तयार गरेको करिब ३५ सय बढी भिडियो सामग्री एपमा राखिएको बताइएको छ।
एपमा सबै अनिवार्य विषयको प्रविधिमैत्री विधिमार्फत अनलाइन, अफलाइन भिडियो सामग्रीहरु राखिएको छ। एपमा कक्षा अनुसारका विषयहरु छनोट गरेर सुन्न, हेर्न र पढ्न सकिने सुविधा उपलब्ध गराइएको छ।




