काठमाडौं। रामेछापको मन्थलीमा स्कर्पियो गाडी दुर्घटना हुँदा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३च ३९३५ नम्बरको पिकअप स्कर्पियो गाडी मन्थली नगरपालिका–६, बोक्से पहरोमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको हो।
उनी मन्थली नगरपालिका–७ स्थित सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्ज हुन।
सो गाडी सडकबाट करिब १०० मिटर तल खसेर तामाकोसी नदी किनारमा पुगेको थियो। सो स्कर्पियो उनका पति ४५ वर्षीय उत्तम चौहानले चलाएका थिए। उनी घाइते छन्।
विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम र राधा हेटौँडामा अध्ययनरत छोरालाई भेट्न आइतबार बिहान त्यसतर्फ जाँदै थिए।
घाइतेलाई थप उपचारका निम्ति काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।
दुर्घटना लगत्तै उनलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारको लागि लगिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको थियो।



