काठमाडौं। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ साप्पाटा स्वास्थ्य चौकीकी अनमी रेखा कट्टेलाई शनिवार बिहान करिब १० बजे फोन आयो, `सुत्केरी गराउन एकजनालाई ल्याउँदैछन्।’
फोन वडा नम्बर १ रुढी नजिकैको सामुदायिक स्वास्थ्य इकाईबाट आएको थियो। खबर पाउनासाथ रेखा, अहेब ताल कुमारी विक र स्वीपर सुनपता विक प्रसूति सामग्री लिएर दौडिए।
प्रसूति व्यथाले च्यापेकी रुढीकी १८ वर्षीया सूचना दमाई करिब आधा घण्टा हिँडेर बीच बाटोमा थलिएकी रहिछिन्। रुढी र साप्पाटा स्वास्थ्य चौकीको दुरी झन्डै दुई घण्टा छ। रेखासहितको टोली समय गन्न नभ्याउँदै सूचना भएको ठाउँसम्म पुग्यो।
“उहाँहरु तीनजना हिँड्दै आउनुभएको रहेछ, सुस्तरी हिँडेर त झन्डै डेढ घण्टा लाग्थ्यो हामी दौडिएर ११ बजे त्यहाँ पुगेका थियौँ,´ रेखाले एक्सरे नेपालसँग सुनाइन्।
साउन १९ गते प्रसूतिको डेट दिइएकी सूचनाको शिशुको टाउको निस्किसकेको थियो स्वास्थ्यकर्मी टोली पुग्दा। टोलीले प्रसूति गराउने सबै सामग्री लिएर गएको थियो। झन्डै २६०० ग्रामको स्वस्थ छोरा जन्मियो। करिब एक घण्टा लगााएर आमा बच्चाको सरसफाई गरियो।
“उहाँहरुले साल काट्न आँसी (हँसिया) बोकेर आउनुभएको रहेछ, तर हामीले सबै सेट लगेका थियौँ, सुरक्षित तरिकाले डेलिभरी गरायौँ”, रेखाले भनिन्।
सूचनाको साथमा घरका दुई महिला सदस्य आएका थिए, तर उनलाई बोकेर लैजानसक्ने कोही जुटेनन् । धान रोपाइँको ब्यस्त समय भएकाले सबै रोपाइँमा व्यस्त थिए। न स्टेचर न एम्बुलेन्स! एक घण्टापछि हिँडेरै घर फकिईन् सुत्केरी किशोरी...।
सामुदायिक स्वास्थ्य इकाइहरुमा सामान्य परीक्षण र उपचार भएपनि प्रसूति गराउनका लागि पालिकामा तीनवटा केन्द्र मात्रै छन्। रुढीबाट नजिक तर विकट स्थानमा रहेको साप्पाटा स्वास्थ्य चौकी बर्कु सडकले जोडिएनि हिउँदमा मात्रै मोटर पुग्छ। बर्खायाममा माथिबाट ढुंगा खस्ने र पहिरोको समेत जोखिम भएपछि कुनैपनि बिरामी मोटरबाट स्वास्थ्यचौकी पुग्न पाउँदैनन्।
त्यसो त गाउँपालिकासँग आफ्नै एम्बुलेन्स पनि छ। तर भौगोलिक विकटता, पातलो बस्ती, समयमा चेकजाँच गर्ने चलन कम हुनुजस्ता कारणले बाटोमै सुत्केरी हुने घटना अझै चुनौतिको रुपमा रहेको बताउँछन्, स्वामीकार्तिक खापर गाउँपालिका १ का वडाध्यक्ष अजय कुमार विक।
“भौगोलिक विकटताकै कारण गर्भवती र सुत्केरी र विरामीलाई समयमै उद्धार गर्न कठिन छ। कतिपयले भने प्रसव व्यथा सुरु भएपछि पनि स्वास्थ्य संस्थामा दुःख पाइन्छ भन्ने डरले ढिलो स्वास्थ्य संस्था पुग्छन्,” वडाध्यक्ष विकले एक्सरे नेपालसँग भने।
बजुरामा बाल बिवाहको चलन पनि हट्न नसकेकाले मातृशिशु स्वास्थ्यमा अझै जोखिम रहेको उनी सुनाउँछन्। स्वामीकार्तिक खापर गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गर्भवती र सुत्केरीको हवाइ उद्धार सेवा भएको पालिका पनि हो। तर समयमै समन्वय नहुँदा अझैपनि बाटोमा सुत्केरी हुुनुपर्ने बाध्यता हटेको छैन।
अनमी रेखा भन्छिन् “मेरो आठ बर्षको सेवाकालमा ६ जनाको बाटोमै सुत्केरी गराएँ, के गर्नु यस्तै छ हाम्रो ठाउँको अवस्था...”



