बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

गम्भीर आरोप लागेपछि ब्लु डाइमन्ड सोसाइटीले भन्यो : एजेन्डामा काम गरौं, इगो र कुन्ठामा होइन

गम्भीर आरोप लागेपछि ब्लु डाइमन्ड सोसाइटीले भन्यो : एजेन्डामा काम गरौं, इगो र कुन्ठामा होइन

images
२०८२ श्रावण १४ गते, बुधवार
२०८२ श्रावण १४ गते, बुधवार
  • काठमाडौं । भ्रष्टाचार र विकृती फैलाएको आरोप लागेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले समूदायका एजेन्डाभन्दा पनि व्यक्तिगत इगोमा केन्द्रीत भएर आरोपहरु लागेको प्रतिक्रिया दिएको छ।

    images

    बुधबार पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा सोसाइटीको कार्यालय घेराउ गर्न पुगेका अर्को संस्था ‘मायाको पहिचान’का सदस्यहरुबीचको छलफलमा भ्रष्टाचार र विकृती फैलाएको आरोप लागेपछि सोसाइटीका पदाधिकारीहरुले कुन्ठा र इगो व्यक्त गरेर समूदायको मुद्दा स्थापित नहुने प्रतिक्रिया दिएका हुन्। 

    images

    छलफलका क्रममा उठाइएका सवालहरू संस्थाको औपचारिक एजेन्डा भन्दा व्यक्तिगत गुनासोमा केन्द्रित भएको उनीहरुको प्रतिक्रिया थियो।

    छलफलमा सहभागीहरूले संस्थामा सदस्यता नपाएका व्यक्तिलाई बोर्डमा समावेश गर्नुपर्ने माग राखेको तर नेतृत्वले उक्त माग असंवैधानिक भन्दै अस्वीकार गरेका थिए।

    छलफलमा सहभागी भक्ति शाहका अनुसार संस्थाको विधान र सदस्यता सम्बन्धी नीति भन्दा बाहिर गएर सदस्यता दिन नसकिने भनेर पदाधिकारीहरुले जवाफ दिएका छन। प्ले कार्डसहित सदस्यता माग गर्न आएकाले विधानबाहेकका मागहरू संस्थागत प्रक्रियाविपरीत हुने छलफलमा कुरा उठेको थियो।

    असन्तुष्ट पक्षका केही कर्मचारीहरूले परियोजना सकिएपछि निरन्तरता नदिइएको गुनासो गरे पनि पदाधिकारीहरूले परियोजनाका शर्त, समयावधि र आवश्यकता अनुसार मात्रै संलग्नता रहने, र संस्थाको प्राविधिक पक्ष भएको प्रतिक्रिया दिएको शाहले जानकारी दिए। व्यक्तिगत गुनासोलाई संस्थागत रूप दिन नहुने सोसाइटीका पदाधिकारीहरुको भनाइ थियो। 

    पूर्वसांसद पन्तले संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गरेको भन्दै आपत्ति जनाए। कार्यालयमा गर्न मिल्ने कार्यक्रमहरु बाहिर होटल रिसोर्टमा गएर गर्दा अनावश्यक खर्च गरेको उनको भनाई छ।

    तर उक्त परियोजना आफैँमा विशेष प्रकृतिको रहेको र दातृ संस्थाको मापदण्ड अनुसार काम भइरहेको स्पष्टीकरण सोसाइटीका पदाधिकारीहरले दिएका थिए। मानसिक स्वास्थ्य र वेलनेस रिट्रीट आजको परिवेशमा समुदायको मनोसामाजिक अवस्था सुधार गर्न अत्यन्त आवश्यक कार्यक्रम भएको उनीहरुको भनाइ थियो।

    सोसाइटीकी अगुवा पिंकी गुरुङको भनाइलाई उदृत गर्दै शाहले दिएको जानकारी अनुसार व्यक्तिगत असन्तुष्टि वा बाह्य प्रभावबाट भन्दा पनि संस्थाको नियम, विधान र दीर्घकालीन दृष्टिकोणलाई प्राथमिकता दिइने जनाइएको छ।

    आलोचना र गुनासो स्वागतयोग्य रहेपनि संस्थाको अस्तित्वमा दाग र सेवा प्रभावमा बाधा पुग्ने कार्य गर्नु कुनैपनि संस्था व्यक्तिको अधिकार क्षेत्रभित्र नपर्ने साथै मानव अधिकार विरुद्ध भएको पदाधिकारीहरुको प्रतिक्रिया थियो।

    सोसाइटीले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोप लागाउदैँ धुम्बाराहीस्थित कार्यालय घेराउ गर्न पुगेका असन्तुष्ट पक्षहरुलाई विना प्रमाण र आधारहीन आरोप नलगाउन अभियन्ता भूमिका श्रेष्ठको प्रतिक्रिया थियो। सामूहिक एजेन्डामा काम गर्न सबै एक ठाउँमा हुनुपर्ने उनको भनाइ थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend