कठमाडौं। देशका विभिन्न स्थानमा आगामी शुक्रबार रातिसम्म भारी वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बाग्मती गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले बुधवार बिहान जारी गरेको बुलेटिन अनुसार बुधबार राति गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्यासहित भारी वर्षाको सम्भावना छ। बिहीवार दिउँसो भने बाग्मती, गण्डकी र कर्णाली प्रदेश का केही स्थानमा मेघ गर्जसहित भारी वर्षाको सम्भावना छ।
यस्तै शुक्रबार दिउँसो बाग्मती, कर्णाली र सुदूरपश्चिममा पहाडी क्षेत्रका अधिकांस स्थानमा भारी वर्षाको सम्भावना छ। शुक्रवार राति भने बाग्मतीका केही स्थानमा मात्रै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षापछि बुधबार बिहान रसुवा र चीनको सीमाक्षेत्रमा बग्ने लेहेन्दे खोलमा बाढी आउँदा स्याफ्रुबेँसी रसुवागढी सडक अवरुद्ध भएको छ।
स्थानीय प्रशासनले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा बस्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १ गतेयता आजसम्म देशभर बाढीका कारण १५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्।
यस्तै पहिरो र भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ।



