बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बन्यो हवाइ इन्धन डीपोको डीपीआर, ५० वर्ष पुरानो सिनामंगल डीपो स्थानान्तरण गरिंदै

बन्यो हवाइ इन्धन डीपोको डीपीआर, ५० वर्ष पुरानो सिनामंगल डीपो स्थानान्तरण गरिंदै

नेपाली ईन्जिनियरले नै बनाए डीपीआर

images
२०८२ श्रावण ८ गते, बिहिवार
२०८२ श्रावण ८ गते, बिहिवार
  • काठमाडौं। नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाइ इन्धन डीपो स्थानान्तरणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ।

    images

    सिनामंगलतर्फ रहेको करिब ५० वर्ष पुरानो हवाई इन्धन डीपो स्थानान्तरण गर्ने सम्बन्धि प्रक्रिया अगाडी बढाउन बिहीबार निगमले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पाएको हो। सो डीपीआर त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा) पुल्चोकले निर्माण गरेको हो।

    images

    आयल निगमले २०८४ मंसिरभित्र डीपो स्थानान्तरण गरि सेवा दिने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने तयारी गर्दै आएको छ। मन्त्रीपरिषद बैठकले नयाँ डीपो निर्माण गर्ने सम्बन्धि २०८१ साउन २८ गते बसेको बैठक मार्फत निर्णय गर्दै निगमलाई सहमति दिएको थियो। स्थानान्तरण हुने डीपो गुहेश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा बन्नेछ।

    नेपाल आयल निगम सिनामंगल डीपोका प्रमुख ईन्जिनियर प्रदीपकुमार यादवलाई पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्राध्यापक डा. सुरज लामिछाने र सहप्राध्यापक नारायणप्रसाद गौतमले बिहीबार डीपीआर हस्तान्तरण गरेका हुन। गत मंसिर ५ गते भएको दुई पक्षीय सम्झौतामा ६ महिना भित्रमा डीपीआर तयार गरिने उल्लेख थियो।

    सिनामंगल डिपोका प्रमुख यादवले नेपाली इन्जिनियरहरुबाटै बृहत् डीपीआर बन्नु ऐतिहासिक भएको भन्दै तोकिएको समय २०८४ मंसिरभित्र अन्तरास्ट्रिय मापदण्ड अनुसार डीपो निर्माण भएर सेवा सुरु गर्ने बताए।

    `२०८४ भित्र निर्माणसम्पन्न गर्ने गरि काम अघि बढाउँछौं, डीपीआर तयार भयो, अब टेण्डरको प्रक्रिया अघि बढ्छ, अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार नयाँ डीपो बन्नेछ,´ सिनामंगलस्थित डीपोका प्रमुख यादवले डीपीआर बुझ्दै भने।

    यादवका अनुसार डीपीआर प्राप्त भएकाले आगामी भदौसम्म निर्माणका लागि टेण्डरको प्रक्रियामा अघि बढ्ने तयारी छ। डीपीआरका लागि १ करोड ९८ लाख ८४ हजार १८३ रुपैयाँ रकम लागत निर्धारण भएको थियो भने डीपो निर्माणमा ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ २० पैसा निर्माण लागत अनुमान छ।

    डीपीआर हस्तान्तरण कार्यक्रममा अध्ययन संस्थानका सहायक डीन प्राध्यापक डा. लामिछानेले भण्डारण गृहको स्तरोन्नति ऐतिहासिक कदम हुने बताए। उनले नेपाली ईन्जिनियरहरुबाटै डीपीआर निर्माण गरेर देशभित्रैका जनशक्ति सक्षम छन भन्ने देखाउन पाउनु उपलब्धि भएको पनि बताए।

    जोखिमका कारण डीपो स्थानान्तरण 

    त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको छ। हालको स्थानमा रहेको डीपोका कारण स्थानीय वासिन्दासमेत जोखिममा छन। विमानस्थलको ट्याक्सी वे समेत डीपो भएको स्थानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन।

    डीपो प्रमुख यादवले डीपोका कारण विमानस्थल र स्थानीय असुरक्षित रहेको आवज पटकपटक उठेपछि डीपो स्थानान्तरणका लागि पहल भएको बताउँछन। उनका अनुसार विमानस्थलको ट्याक्सी वे अन्तरास्ट्रिय मापदण्डअनुसार ५०० मिटर पर हुनुपर्नेमा ९० मीटर मात्रै रहेको छ।

    `विमानस्थलको ट्याक्सी वे अन्तरास्ट्रिय मापदण्डअनुसार ५०० मिटर पर हुनुपर्नेमा ९० मीटर मात्रै छ, अन्तर्राष्ट्रिय विमान आउँदा झण्डै झण्डै ठोक्किएला जस्तो हुने अवस्थाका कारण पनि स्थानान्तरण गर्नु पर्ने बाध्यता थियो,´ डीपो प्रमुख यादवले भने।

    हाल विमानस्थलको हवाई यातायात क्षमता अभिबृद्धी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नति गरि फराकिलो र सुरक्षित बनाउने कार्य गर्दै आएको छ।

    विमानस्थलको मुख्य धावनमार्गमा विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेकाले आइकाओ र प्राधिकरणको गुरुयोजना अनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बिचमा दुरी १७२ दशमलव ५ मीटर कायम हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। सो ट्याक्सी वे निर्माण गर्दा अहिलेको हवाइ इन्धन डीपोको आधा क्षेत्रफल हटाउनु पर्ने अवस्था छ।

    कति पर सर्दै छ डीपो?

    आयल निगमको हवाइ इन्धन डीपो हालको सिनामंगलबाट विमानस्थलको उत्तरतर्फको स्थानमा स्थानान्तरण हुनेछ। डीपो प्रमुख यादवका अनुसार विमानस्थलको उत्तरतर्फ गुहेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डीपो स्थानान्तरण हुनेछ।

    हाल विमानबाटै डीपो देखिने गरेकोमा अब बन्ने डीपो विमानबाट देखिने छैन। विमानस्थलको हालको रन वे बाट नयाँ बन्ने डीपोको लेभल २५ मीटर होचो स्थानमा हुनेछ। तर सो स्थानमा माटो रिफिल गर्दा त्यसको गहिराइको लेभल मात्र ५ मीटरको हुने छ। विमानस्थलको रन वे बाट डीपोको दुरी भने ५०० मीटरमा हुनेछ। जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन आउँछ भने सुरक्षित पनि हुनेछ।

    नयाँ बन्ने डीपो अत्याधुनिक 

    हालको सिनामंगलस्थित डीपो करिब ५० वर्ष पुरानो हो। हालको डीपोको भण्डारण क्षमता ७ हजार ६६० कीलोलीटर छ भने दैनिक ४ सय कीलोलिटर हवाइ इन्धन विक्री वितरण हुँदै आएको छ। हाल संचालनमा रहेको डीपोमा १ हजार ६०० किलोलिटरका तीन वटा, ७६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताका ८ वटा इन्धन भण्डारण ट्यांकी छन।

    हालको अवस्थामा सामान्यतया आपतकालीन प्रयोगका लागि ३ देखि ५ दिन र नियमित माग अनुसार आपूर्ति गर्न ५ देखि ७ दिनका लागि इन्धन भण्डारण गर्ने गरिएको यादव बताउँछन।

    उनका अनुसार विमानस्थलबाट अन्तरास्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य उडान भर्ने विमानलाई सेवा दिनका लागि २० दिनको माग धान्न सक्ने क्षमताको भण्डारण गृह आवश्यक पर्छ भने आपतकालीन अवस्थामा सेवा दिनका लागि न्युनतम ३ दिनको इमर्जेन्सी स्टक आवश्यक पर्छ।

    प्रस्तावित नयाँ बन्ने डीपोमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भण्डार ट्यांकी हुनेछन। जसले ब्यवस्थापनमा आवश्यक सहयोग पुग्ने छ।

    डीपोका इन्जिनियर अनुपम पराजुलीले नयाँ डीपो निर्माणपछि अन्तरास्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय इन्धन गुणस्तरीय तरिकाबाट दिन सकिने बताए।

    उनका अनुसार डिपो पुर्ण रुपमा अत्याधुनिक तथा स्वचालित हुनेछ भने हवाई इन्धन ‘लोडिङ’ र ‘अनलोडिङ’का लागि छ र आठ वटा वे, अन्तरराष्ट्रिय उडानका जहाजमा इन्धन भर्न सात वटा ‘हाइड्रेन्ट रिफ्युलर’ रहने छन।

    यस्तै डिपोमा अग्नि सुरक्षाका लागि २१ सय किलोलिटरका दुई वटा पानी टयाङ्क तथा पूर्णस्वचालित अग्नि नियन्त्रक प्रणाली जडान हुने निगमका इन्जिनियर पराजुलीले जानकारी दिएका हुन।

    उनले नयाँ डीपो निर्माणपछि डीपोबाट ट्यांकरमार्फत इन्धन पुर्याउने अवस्थाको अन्त्य हुने दाबी गरे। उनका अनुसार अत्याधुनिक प्रविधिमार्फत सिधै विमानमा इन्धन उपलब्ध गराइने छ।

    आधुनिक प्रविधिअनुसार चल्न पनि डिपोको पूर्वाधार अत्याधुनिक बनाउने गरी सम्भाब्यता अध्ययन भएको निगमले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend