काठमाडौं। समस्याग्रस्त सहकारीमा सूतिकृत भएका मध्ये १९ सहकारीका ५६ हजार १ सय ६ जना बचतकर्तालाई दामासाही रूपमा २९ करोड ८२ लाख ८ हजार रुपैयाँ फिर्ता गर्न थालिएको छ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले बचत फिर्ताका लागि लामो समयदेखि निरन्तर आन्दोलन र संघर्षका कार्यक्रम गर्दै आएपछि सहकारी संचालकहरुलाई दवाव परेर उनीहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निश्चित रकम जम्म गरिदिएकाले त्यही रकम दमासाही रुपमा वितरण गर्न लागिएको हो।
समितिले समस्याग्रस्त घोषीत भई र रकम जम्मा गरेका १९ वटा सहकारी संस्थाका करिब ५६ हजार बचतकर्तालाई दामासाहीमा रकम फिर्ता गर्न लागेको हो।
पिडितहरुको केही रकम फिर्ता हुन लागेकोमा केही राहत महसुस भएको महासंघका अध्यक्ष कुशलव केसीले बताए। उनले अरु लाखौँ बचतकर्ताको बचत अझै पनि अन्यौलमै रहेकोले खुशी हुने ठाउँ नहरेकाले आन्दोलन जारी नै रहेको स्पष्ट पारे।
महासंघका अध्यक्ष केसीले समस्याग्रस्त घोषित सहकारीमध्ये १९ सहकारीका ६१ हजार ९४ बचतकर्ताले करिब ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बचत फिर्ताको मागदाबी गरेकामा हालसम्म ५ हजार जनाको ३ अर्ब ४१ करोड रुपैयाँ बचत मात्र फिर्ता भएको जानकारी दिए।
संघीय सरकारले हालसम्म २३ वटा सहकारी संस्थालाई समस्याग्रस्त गरिसकेको छ। तीमध्ये गत वर्ष नै तीनवटा सहकारीको बचत फिर्ता भइसकेको छ।
सहकारीमा रहेको बचत सम्बन्धित सहकारीबाटै असुल गरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको समितिका अध्यक्ष श्रीमणकुमार गौतमले जानकारी दिए।
‘जुन सहकारी हो, त्यसैको पुँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुल गरी रकम जम्मा गर्छौं। जम्मा भएको रकम वितरण गर्दै जान्छौं,’ अध्यक्ष गौतमले भने, ‘त्यसका लागि ऋणी र जमानतकर्ताको एकाघर परिवारको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने प्रक्रिया अपनाइनेछ ।’



