बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

ओमानको मस्कटमा नेपाल नेत्रज्योति संघको आँखा उपचार सेवा

ओमानको मस्कटमा नेपाल नेत्रज्योति संघको आँखा उपचार सेवा

images
२०८२ आषाढ १५ गते, आइतवार
२०८२ आषाढ १५ गते, आइतवार
  • काठमाडौं। नेपाल नेत्रज्योति संघले देश बाहिरबाट आँखा उपचार सेवाको सुरुवात गरेको छ। 

    images

    मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउने योजना अनुसार ओमानको राजधानी मस्कटबाट संघले गत असार १३ गतेबाट आँखा उपचार सेवा सुरुवात गरेको हो। 

    images

    संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मस्कटस्थित बदर अल समा अस्पताल र अल खुवेर अस्पतालमा आँखा परीक्षण शिविर आयोजना गरिएको थियो।

    सेवा अन्तर्गत मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच तथा आवश्यक बिरामीका लागि चस्मा वितरण गरिएको हो। शिविर आयोजनाका लागि नेपाली राजदूत डोरनाथ अर्यालले विशेष समन्वय र सहजीकरण गरेको संघले जनाएको छ।

    संघले नेपाल भित्र २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरूको सञ्जालमार्फत आँखा उपचार सेवा प्रदान गर्दै आएकोमा देश बाहिरबाट पनि सेवाको सुरुवात गरेको हो।

    विभिन्न कामको सिलसिलामा मुलुकबाहिर गएका नेपालीलाई आँखा उपचारमा सहजता होस् भन्ने उद्देश्यले नेपाली राजदूतावाससँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिए।

    चन्दका अनुसार आँखा परीक्षणपछि चश्मा आवश्यक देखिएका बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो।

    “विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ, श्रमिकहरूलाई त्यहाँ उपचार गराउन कठिन हुनसक्छ भनेर उहाँहरूको अवस्थालाई ख्याल गरेर आँखा परीक्षण कार्यक्रम राखेका हौँ।” चन्दले भने।

    अन्य देशहरूमा रहेका नेपाली श्रमिकलाई लक्षित गरेर आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महासचिव चन्दले जानकारी दिए। उनका अनुसार नेपालको आँखा उपचार सस्तो एवं गुणस्तरीयताका कारण अन्य देशका नागरिक पनि आँखा उपचारका लागि नेपालमा आउने गरेका छन।

    “सबै नागरिकको पहुँचमा गुणस्तरीय आँखा सेवा पुर्याउँदै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ, यसै सेरोफेरोमा सङ्घीय सरकारसँगको समन्वय र सहकार्यमा आफ्ना योजना र कार्यक्रम केन्द्रित छन्, विदेशमा हुने आँखा परीक्षण कार्यक्रमले विश्व समुदायमा नेपालको सेवाका बारेमा प्रचारप्रसार र प्रवर्द्धन हुनेछ।”

    ओमानस्थित नेपाली राजदूतका अनुसार अनलाइनमार्फत नाम दर्ता गराएका नेपालीको आँखा परीक्षण गरिएको हो। आगामी दिनमा पनि ओमानका अन्य सहरमा नेत्रज्योति संघसँगको सहकार्यमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहको दूतावासले जनाएको छ।

    सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले विदेशमा नेपालीलाई लक्षित गरी सञ्चालन गरिने यस्ता कार्यक्रमले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सङ्घको योजनामा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

    “नेपालको आँखा उपचार सेवा विश्वमा अब्बल छ भन्ने कुरालाई प्रमाणित गरेर नेपाललाई आँखा उपचारको हव बनाउन सकिन्छ, यसका लागि विदेशमा परीक्षण थालनी गरेका हौँ।” प्राडा पन्तले भने।

    संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सन् २०२४ मा मात्र संघको सञ्जालमार्फत भारतलगायत अन्य छिमेकी मुलुकका करिब नौ लाख आँखाका बिरामीको परीक्षण गरिएको छ भने एक लाख ६० हजारभन्दा बढी बिरामीको शल्यक्रिया गरिएको छ।

    “छिमेकी देशबाट जसरी हाम्रो आँखा उपचार सेवाको गुणस्तरीयताका कारण नागरिकहरू आइरहनुभएको छ त्यसरी हामीले अन्य देशका नागरिकलाई नेपालको आँखा उपचारका लागि आकर्षित गर्न सक्छौँ।”

    उनका अनुसार स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघका  सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार  करोड ६८ लाख ६८ हजार ६० जना बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend