काठमाडौं। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजना गरिएको `सिचाङ सांस्कृतिक सप्ताह´ भोलि सकिंदै छ।
काठमाडौंको होटल याक एन्ड यतिमा ‘सिचाङ मिडिया ग्रुप’ को आयोजनामा आयोजित साताब्यापी सिचाङ सांस्कृतिक सप्ताहको गत शनिबार शुभारम्भ गरिएको थियो।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले उद्घाटन गरेको कार्यक्रममा सोमबार लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष डा. ल्यार्केल लामाले सम्बोधन गरेका हुन।

नेपालका लागि चीनका राजदूत छन सोङ र सिचाङ अन्तराष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा सिचाङ सांस्कृतिक सप्ताहको उद्घाटन गरेका थिए।
सांस्कृतिक सप्ताहमा नेपाल र चिनको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध र कलाको आदानप्रदान बारे बृहत् प्रदर्शनीसमेत गरिएको छ।
प्रस्तुत कार्यक्रमबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ तुल्याउन र जनस्तरीय मैत्रीलाई प्रगाढ बनाउन योगदान हुने उद्देश्य लिइएको छ भने दुई देशबिचको सम्बन्ध थप मजबुत हुने लक्ष्य राखिएको छ।
कार्यक्रम मार्फत आर्थिक विकास, सामाजिक सद्भाव, पर्यटन प्रवर्द्धन, भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार, सूचना प्रविधिको विकासमा चीनले दिएको तीव्रता र आर्थिक समृद्धिको यात्राका बारेमासमेत जानकारी गराइएको छ।
कार्यक्रममा सिचाङ अन्तरराष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीच झण्डै दुई हजार वर्षदेखिको सांस्कृतिक सम्बन्ध रहँदै आएको बताएका थिए।
उनले सरकारीस्तरका साथै जनस्तरमा पनि दुई देशबिचको सम्बन्ध झाङ्गिँदै गएको बताउँदै दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य जनहितका क्षेत्रमा भएका कामले आपसी सम्बन्धलाई अझ विस्तार गरेको धारणा राखेका थिए।
होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथै सिचाङ क्षेत्रको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, वेशभूषा, पूर्वाधार निर्माणलगायत सिचाङसँग सम्बन्धित तस्बिर प्रदर्शन गरिएको थियो।
सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत मंगलबार ललितपुरको पाटन दरवार स्क्वायरमा फोटो प्रदर्शनी हुनेछ भने मंगलबार नै `सिचाङ सांस्कृतिक सप्ताह´ समापन हुनेछ।



