काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा रु १ अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका छन।
यसवर्ष नेपालबाट बङ्गलादेश विद्युत निर्यात सुरु भएको अवसरमा आइतबार उर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट विद्युत निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा १ अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका हुन।
नेपाल विद्युत प्राधिकरणले गएराती १२ बजेबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गरेको थियो। गत वर्ष कात्तिक ३० (नोबेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मीनेटका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष गएराती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो।
गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म विद्युत निर्यात भएको थियो।
उर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताए। गत वर्षदेखि नेपालले विद्युत आयतभन्दा निर्यात धेरै गर्दै आएको मन्त्री खड्काको भनाई थियो।
उनले मुलुकको दिगो आर्थिक विकासका लागि उर्जा क्षेत्र भरपर्दो माध्याम भएकाले यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै आएको बताए।
“सरकारले आन्तरिक विद्युत खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,” मन्त्री खड्काले भने।
उनले विद्युत क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर साना आयोजनाका साथसाथै बुढिगण्डकी, अपर अरुणलगायतका ठूला आयोजनालाई अगाडि बढाउन लागिरहेको उल्लेख गरे। विद्युत व्यापारले नेपालको समृद्धिको आधारलाई झन् बलियो बनाउँदै लगेको मन्त्री खड्काको भनाई थियो।
उर्जामन्त्री खड्काले जलविद्युत क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि सरकारले विनाधितो रु दुईलाखदेखि पाँच लाखसम्मको शेयर प्रदान गर्न लागिरहेको बताए। नेपालले हरेक वर्ष पाँच महिना बर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ।
आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ। पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ। उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ।
पत्रकार सम्मेलनमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट बंगलादेश विद्युत निर्यात गरिएको बताए। उनले आगामी दिनमा बढी भन्दा बढी विद्युत बंगलादेश निर्यात गर्नका लागि छलफल भइरहेको स्पष्ट पारे।
पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल उर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र वंगलादेशमा विजुली निर्यात गरि अर्बौ आम्दानी हुने बताए।
“अहिले लोडसेडिङ छैन र हुँदैन पनि, उत्पादित विजुली बढी भएरै बिक्री सुरु गरिएको छ, ट्रिपिङको समस्या कहिलेकाँही देखिएर झ्याप झ्याप बत्ति जाने गरेपनि यसलाई हटाउँदै लगिएको छ,“ उनले भने।
त्यस्तै, नेपालले जुन १ देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबार अर्थात जून १५ बाट बढाएर २०० मेगावाट विक्रि गरेको छ। त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत आइतबारबाटै निर्यात हुन सुरु भएको छ।



