चितवन। चितवनको भरतपुरमा एकैदिन एकै ठाउँमा १७ सय १७ जनाले रक्तदान गरेका छन।
विश्व रक्तदाता दिवसका अवसरमा ब्लड डोनर्स सोसाइटी चितवन शाखाद्वारा शनिबार आयोजित एक दिने रक्तदान महोत्सव कार्यक्रममा १७ सय १७ जनाले रक्तदान गरेका हुन।
भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको महोत्सवको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरेकी थिइन।
उपचारका क्रममा रगत आवश्यक पर्दा नपाइने गरेकाले महोत्सव मार्फत रक्तदानलाई बढाउन कार्यक्रम आयोजना गरिएको सोसाइटीका चितवन शाखा अध्यक्ष एकराज बुर्लाकोटीले बताए।
उनका अनुसार रक्तदान गर्न मिल्ने धेरैले रक्तदान नगर्ने गरेकाले रक्तदान प्रति अग्रसर गराउन सन्देश दिन तथा नियमित रक्तदाताको संख्या बढाउन वृहत् कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम मार्फत १५ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा त्यो भन्दा बढी संकलन भएको छ।
‘हामीले १५ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेका हौं, तर त्यो भन्दा धेरै १७ सय १७ जनाले रक्तदान गर्नुभयो,’ सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले भने।

चितवनका सातै पालिकाका सबै ९८ वडामा रहेका टोल विकास समितिसँग समन्वय गरेर कार्यक्रम गरेका कारण र सोही अनुसार प्रचारप्रसार गरिएकाले ठूलो मात्रामा रगत संकलन भएको आयोजकको भनाइ छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को प्राविधिक सहयोग रहेको थियो।
महोत्सवमा नयाँ रक्तदातालाई आकर्षित गर्न विभिन्न उपहार योजना समेत राखिएको थियो। जसअन्तर्गत माडीका सन्दिप क्षेत्रीले स्मार्टफोन जितेका छन। सो स्मार्टफोन शहिदचोकमा रहेको शुभ श्री मोबाइल प्वाइन्टले उपलब्ध गराएको हो।

सोसाईटीका अनुसार, रक्तदाताहरुका बीचमा चिठ्ठा प्रतियोगिता मार्फत सोफा सेट, मौलाकालिका केबुलकारका टिकट, मदन पुरस्कार सहितका पुस्तकहरुको प्याकेज, होल बढी चेकअपका टिकट, कोट सेट मिक्चर लगायतका आकर्षण पुरस्कारसमेत थिए।
ब्लड डोनर्स सोसाइटी चितवनका सचिव पाठकले मानवताप्रतिको सामूहिक प्रतिबद्धता र रगतको प्रत्येक थोपा मार्फत जीवनको उज्यालो गर्ने ऐतिहासिक सङ्कल्पमा साथ दिने सबैलाई धन्यवाद दिएका छन।
उनले सामाजिक संजालमा लेखेका छन, `हो हामीले आफ्नो सपनालाई साकार पार्यौँ। १७१७ रक्तदाताहरूले रक्तदान गर्नुभएको यो समारोह केवल एउटा महोत्सव होइन मानवताप्रतिको सामूहिक प्रतिबद्धता हो। रगतको प्रत्येक थोपा मार्फत जीवनको उज्यालो गर्ने ऐतिहासिक सङ्कल्प हो। Blood Donor's Society Nepal,Chitwan को तर्फबाट सम्पूर्ण सहयोगी व्यक्तित्व र सङ्घसंस्थाप्रति विशेष आभार प्रकट गर्दै रक्तदान गर्ने सम्पूर्ण महान व्यक्तित्वहरूप्रति शिर निहुराएर सम्मान प्रकट गर्दछौं सामाजिक कर्ममा आगामी दिनमा समेत यहाँहरूको विश्वास जितेर अगाडि बढ्न सकौँ। दिन रात नभनी कर्ममा जुट्ने सारा साथीहरूलाई हृदयको स्पन्दन जत्तिकै प्रेम र अनुराग प्रकट गर्दछु।´





