मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमा सफल भयो `सेक्स चेन्ज´ शल्यक्रिया, पुरुषको लिंगको तन्तुबाट महिलाको अंगको पुनर्निर्माण

नेपालमा सफल भयो `सेक्स चेन्ज´ शल्यक्रिया, पुरुषको लिंगको तन्तुबाट महिलाको अंगको पुनर्निर्माण

कति लाग्छ खर्च?

images
२०८२ जेठ २५ गते, आइतवार
२०८२ जेठ २५ गते, आइतवार
  • काठमाडौँ। नेपालमा नै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ।

    images

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमा नै पहिलोपटक सेक्स चेन्ज अपरेसन सफलतापूर्वक सम्पन्न गरिएको बताएको हो। यसरी सेक्स चेन्ज गर्दा ती ब्यक्तिमा ६ घण्टा समय लागेको थियो।

    images

    अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख प्रा.डा. जयनमान श्रेष्ठका अनुसार जनकपुरका २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको सेक्स चेन्ज शल्यक्रियामार्फत पुरुषको लिंगको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको हो।

    `जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।´ अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख प्रा.डा. श्रेष्ठले पत्रकार सम्मेलनमा भने।

    शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका `जेन्डर एफर्मिङ´ सर्जरी गरेको थियो। सो समयमा अनुहार तथा स्तनका विभिन्न अप्रेसन गरिएको अस्पतालका प्रवक्ता प्रा.डा. गोपाल सेढाईंले जानकारी दिए। त्यसै क्रममा सेक्स चेन्ज अपरेसन पनि सफल भएको उनले बताएका हुन।

    नेपालमा नै यो किसिमको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएपछि व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग पुग्ने छ भने कम खर्चमा नै स्वदेशमा नै सेक्स चेन्ज गर्न सकिने छ।

    सेक्स चेन्ज शल्यक्रियामा सहभागी चिकित्सक कोको?

    शिक्षण अस्पतालमा सम्पन्न सेक्स चेन्जमा डाक्टरहरुको ठूलो समूह सहभागी भएको अस्पतालले जनाएको छ। जसको नेतृत्व विदेशी प्लास्टिक सर्जन डा. एलिरेजा हमीदियान जहरोमीले गरेका थिए।

    यसैगरी अपरेसनमा प्लास्टिक सर्जरी विभाग प्रमुख डा.  श्रेष्ठ, प्लास्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समित शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदीप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्बिनको सहभागिता थियो।
    यसैगरी एनेस्थेसिया तर्फ डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टिमले सहयोग गरेका थिए।

    अब देखि नियमित शल्यक्रिया

    सेक्स चेन्ज अपरेसन सफल भएसँगै शिक्षण अस्पताल महाराजगन्जमा अबदेखि नियमित रुपमा अपरेसन हुने तयारी गरिएको छ।

    अस्पतालका सर्जरी विभागका प्रमुख प्रा.डा. जयमान श्रेष्ठले अस्पतालमा नियमित रूपमा यस्तो अपरेसन सेवा गरिने योजना बनाइएको बताए।

    `हालसम्म यो अपरेसन गर्न विदेशमा जानुपर्ने बाध्यता थियो, खर्चका हिसाबले धेरै खर्चिलो पनि हुने अवस्था थियो, अब शिक्षण अस्पताल महाराजगन्जमा नियमित रुपमा सेक्स चेन्ज सम्बन्धि अपरेसन हुन्छ।´ प्रा.डा. श्रेष्ठले भने।

    उनका अनुसार अबदेखि अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्दै जाने अस्पतालको योजना छ।

    यस्तै, त्रिवि शिक्षण अस्पतालका सर्जन डा.इश्वर लोहनीले लैङ्गिक पहिचान पुष्टि शल्यक्रिया एउटा सुरुवात मात्र भएको बताए। सेवा सुरु गरेर निरन्तर दिनलाई अप्ठ्यारो हुने भन्दै उनले सेवा सुरु गर्ने भन्दा पनि सेवालाई निरन्तरता दिने कुरा महत्वपूर्ण हुने धारणा राखे। 

    `यो लैङ्गिक पहिचान पुष्टि शल्यक्रिया एउटा सुरुवात हो, धेरै लामो यात्रा तय गर्नुपर्ने छ, यो सुरुवात मात्रै हो, विस्तारै अब सेवा सुरु गर्ने तयारी छ।´ उनले भने।

    उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा हाल ६ जना प्लास्टिक सर्जनहरु छन्। 

    विदेशमा भन्दा सस्तो सेवा

    अस्पतालका सर्जरी विभागका प्रमुख प्रा.डा. श्रेष्ठले अब नेपालमा कम खर्चमा नै व्यक्तिले आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सक्ने बताए।

    उनका अनुसार बढिमा १ लाख ५० हजारदेखि २ लाखसम्मको खर्चमा शिक्षण अस्पताल महाराजगन्जमा सेक्स चेन्ज सम्बन्धि अपरेसन सम्पन्न हुने छ। यो अन्य देशहरुको तुलनामा एकदमै सस्तो भएको उनले बताए।

    ‘सेक्स चेन्ज गर्दा नेपालमा धेरै खर्च लाग्ने अवस्था छैन, हाम्रो अस्पतालमा धेरै ठूलो अपरेसन पनि ५०–६० हजारमा नै गर्छौं, ब्रेस्ट सर्जरी र सेक्स चेन्ज सर्जरीको खर्च त फरक नै हुन्छ, यो अपरेसन पनि साधारणतया ४०–५० हजारमा हुन्छ, बढिमा डेढ लाख देखि दुई लाखसम्म लाग्न सक्छ, थाइल्यान्ड र अन्य देशहरुको तुलनामा नेपालमा धेरै नै सस्तो छ।´ उनले भने

    कानुनी जटिलता 

    ट्रान्सजेन्डरले विदेशबाट अपरेसन गरेर आएपछि आफ्नो सरकारी कागजातमा लिङ्ग परिवर्तन गर्ने व्यवस्था थियो। त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ। तर नेपालमा यो अपरेसन गर्न पाइने या नपाइने विषय हालसम्म कानुनमा उल्लेख छैन।

    प्रा.डा. श्रेष्ठले आफुले चाहेको स्वास्थ्य उपचार सबैले गर्न पाउने मौलिक अधिकार रहेकाले आफूहरुले सेवा दिएको भन्दै कानुनी रुपमा नै अधिकार दिएमा सेवामा थप सहजता हुने बताए।

    ‘ट्रान्सजेन्डरहरुले विदेशमा गएर अपरेसन गर्ने गरेका थिए, विदेशबाट अपरेसन गरेर आएपछि नेपालमा आफ्नो कागजातमा लिङ्ग परवर्तन गर्ने व्यवस्था थियो, कानुनी रुपमा नै यो अपरेसन गर्न पाइने कि नपाइने भन्ने कुरा प्रष्ट रुपमा चाँही आएको छैन, हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको मौलिक अधिकार पाउन पर्छ र यो त्यही भित्र चाँही परेको छ तर पछि यसलाई कानुनी रुपमा नै अधिकार दिनुपर्छ भन्ने हाम्रो चाहना छ।’

    अपरेसन पछि कस्तो असर?

    अपरेसनपछि केही समयसम्म अलिकति दुखाई हुने इन्फेक्सन हुने सामान्य स्वास्थ्य समस्या देखिने भएकाले राम्रो हेरचाह गर्नुपर्ने उनको सुझाव छ। ६ घण्टाको समयावधिमा अपरेसन सम्पन्न गरेको उनले जानकारी दिए। 

    ‘हामीले अपरेसन चाँही ६ घण्टाको अवधिमा गरेको थियौं, केही समयसम्म अलिकति दुखाइ हुने वा इन्फेक्सन हुने सामान्य समस्या देखिन्छ, तर हेरचाह गर्न सक्यो भने समस्या हुँदैन, हेरचाह चाँही पछिसम्म गर्नुपर्ने हुन्छ,’उनले भने।

    उनले अपरेसनपछि चिकित्सकले सुझाएका औषधि नियमित सेवन गर्नु पर्ने बताए। जसले गर्दा असर नियन्त्रणमा रहने र ब्यक्तिलाई सहज हुने उनको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend