काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि थप क्रियाशील भई कार्यसम्पादन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन।
मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विपद् व्यवस्थापन पूर्व तयारी बारे विस्तृत जानकारी लिंदै गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताए।
उनले विपद व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकार लगायतका निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी कार्य गर्न नेपाल प्रहरीलाई निर्देशन दिए।
सो अवसरमा गृहमन्त्री लेखकले विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शनी एवम् विपद् उद्दार सामाग्रीहरूको अवलोकन समेत गरे।
कार्यक्रममा निमित्त गृहसचिव जय नारायण आचार्यले विपद् ब्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्नु पर्ने उनको भनाई थियो।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताए।
सबै किसिमका आपतकालीन घटनामा अग्रपंक्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिवद्धता समेत उनले व्यक्त गरे।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ–आफ्नो प्रस्तुती राखेका थिए ।




