काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतका कर्मचारीहरुले लिदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुबिधा कटौती गरेको छ।
दुग्ध किसानहरुलाई दिनु पर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नु पर्ने अवस्था लगायतका कारण डिडिसिका कर्मचारीले पाउँदै आएको सो सुबिधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ। यो सुविधा बुधबार बाटै कटौती भएको मन्त्रालयले जनाएको हो।
अन्य सार्वजनिक संस्थानहरुमा पनि संस्था घाटा नोक्सानीमा गएका बेला सुविधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध जन्य पदार्थ बिक्रि गरि आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन सुविधा कटौती जरुरी रहेको ठहर गरेको छ।
यस अघि मन्त्रालयले संस्थान व्यवस्थापन समक्ष खाइपाइ आएको सेवा सुबिधाको जानकारी मागेको थियो। आजै मन्त्रालयले संस्थानको महाप्रबन्धकमा सहसचिब जगदीश पाण्डेलाई पठाएको छ।



