काठमाडौं। अन्तर्राष्ट्रिय संग्राहलय दिवस २०२५ को अवसर पारेर काठमाडौंको हनुमानढोकामा रहेको ऐतिहासिक नौ तले दरबार सर्वसाधारणका खुला गरिएको छ।
भुकम्पका कारण बन्द रहँदै आएको नौ तले दरवार पुनर्निर्माणपछि मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको हो। मंगलबार एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नौ तले दरबारको उद्घाटन गरेका हुन।
उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले सम्पदा संरक्षण र पुस्तान्तरणको महत्वलाई जोड दिए। नौ तले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको भन्दै उनले भूकम्पले ढलाएका सम्पदाहरु उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद व्यक्त गरे।
"हाम्रो सम्पदा केवल ढुंगा, काठ र इँटाको संरचना होइन। ती हाम्रो पहिचानका कडी हुन्। नयाँ पुस्तालाई साधना, धैर्यता र अभ्यासको महत्व सिकाउने माध्यम हाम्रा सम्पदा नै हुन्।" उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने।
मन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा देखिएको प्राविधिक क्षमता र परम्परागत सीपको प्रशंसा गर्दै भने, “लिच्छवीकालका जस्ता कलाकारहरू आज पनि हुनुहुन्छ भन्ने प्रमाण काष्ठमण्डप पुनःनिर्माणमा देखिएको छ। नौ तले दरबार निर्माणमा देखिएको छ। हाम्रो सभ्यता र पुर्खाहरूको कला–कौशलका प्रतिनिधि यी सम्पदाहरू हुन्।”
प्राचीन शिल्प, परम्परा र धैर्यको प्रतीक मानिने नौतले दरबार आज सर्वसाधारणको लागि खुला भएपछि हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक महत्त्वमा पुनः ऊर्जा थपिएको छ।
उनले सम्पदा र कला संरक्षण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउदै सरकारले यसबारेमा निरन्तर जनचेतना अभिवृद्धि गर्नु पर्नेमा जोड दिए।
डिजिटल युगमा प्रवेश गरिसकेको वर्तमान समयमा सम्पदाको डिजिटल अभिलेखनको खाँचो औंल्याउँदै मन्त्री पाण्डेले पुरातत्व विभाग र अभिलेखालयलाई त्यसतर्फ सक्रिय हुन निर्देशन दिए।
मन्त्री पाण्डेले नेपालको पुरातात्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिए।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक, चिनियाँ प्राविधिक टोलीका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा सम्पदा क्षेत्रमा सक्रिय विज्ञहरू सहभागी थिए। उनीहरूले नौतले दरबारको पुनःनिर्माणमा प्रयोग गरिएको परम्परागत काष्ठकला, ढुंगा निर्माण शैली र हस्तकलाको पनि अवलोकन गरेका थिए।



