मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कक्षा १२ को परीक्षा सुरु, परीक्षा केन्द्रमा मोबाइल निषेध

कक्षा १२ को परीक्षा सुरु, परीक्षा केन्द्रमा मोबाइल निषेध

images
२०८२ बैशाख २१ गते, आइतवार
२०८२ बैशाख २१ गते, आइतवार
  • काठमाडौं। शिक्षक आन्दोलनका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ।

    images

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ। जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले देशभर १ हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको जनाएको छ।

    images

    परीक्षामा कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

    परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अरू कसैले पनि  मोबाइल फोन लैजान पाउने छैनन। परीक्षा अवधिभर मोबाइल पूर्ण रुपमा निषेध गरिएको छ। परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट वाचलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ।

    परीक्षामा सबैभन्दा बढी काठमाडौंमा १६२ र सबै भन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले बताएका छन।

    परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

    परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५  छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने छन।

    परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको छ।

    यसैगरी कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ। जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ।

    परीक्षाको पहिलो दिन  आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भइरहेको छ।

    यसअघि बैशाख ११ गतेबाट सुरु हुने तयारी भएको परीक्षा शिक्षक आन्दोलनका कारण अन्तिम समयमा रोकिएको थियो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend