काठमाडौं। हेटौंडामा सडकमा गुडिरहेको एउटा बोलेरो भ्यान सडकमै परेको भ्वाङमा परेर गायब भएको छ। यो घटना शुक्रबारको हो। तर शनिबार २ बज्दासम्म पनि सो बोलेरो भेटिएको छैन।
हेटौंडा उपमहानगरपालिकाको १६ र १७ नम्बर वडाको सिमामा पर्ने गैरीगाउँको कच्ची सडकमा ना ४ च ४८३३ नम्बरको सिङ्गल क्याप बोलेरो भ्यान शुक्रबार साँझ ५ बजेतिर गुड्दै गर्दा पानी जमेको भ्वाङमा परेको थियो। भ्वाङमा गाडी परे लगत्तै चालक र सहचालक हामफालेर बाच्न सफल भएका थिए। तर बिस्तारै भ्वाङमा पस्दै गरेको बोलेरो भने सडक भासिंदै गएपछि दबिएर गायब भएको स्थानीय बताउँछन।
प्रहरीले समेत बोलेरो सडकमै गायब भएको बताएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार सो बोलेरो माछा बोक्ने काममा प्रयोग हुँदै आएको थियो भने शुक्रबार घाँस काट्ने मेसिन बोकेको अवस्थामा थियो।
सो बोलेरोका सहचालकका अनुसार बोलेरो भ्वाङमा परेपछि डोरी लगाएर तान्ने प्रयाससमेत भएको थियो। तर डोरीसमेत बोलेरोसँगै गायब भएको छ। बोलेरो डुबेको स्थान नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ छ। बोरिङका कारण जमिन भासिन पुगेको अनुमान स्थानीयको छ। बोरिङसमेत धसिएको छ।
अहिले बोलेरो हराएको सडकको भ्वाङमा पानी जमेर दह बनेको छ भने पानी कटाएर गाडीको खोजी गर्ने काम भइरहेको प्रहरीको भनाइ छ।



