काठमाडौं। डडेलधुरामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
कंचनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राती साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा दुर्घटना भएको थियो। दुर्घटनामा दुई दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन।
प्रहरीले दुर्घटनामा परेका एक जनाको शव बस मुनि च्यापिएको अवस्थामा फेला पारेको हो। बैतडीको पुर्चौंडी नगरपालिका १० की ६० वर्षीया गोवणी महराको शव च्यापिएको अवस्थामा निकालिएको प्रहरीले जनाएको हो।
त्यसबाहेक मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा तथा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए। दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ।
अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा कति यात्रु थिए भन्ने यकिन छैन। अन्य यात्रु बेपत्ता भएको अनुमान प्रहरीको छ भने उनीहरुको खोजी भइरहेको छ।
दुर्घटनामा घाइते भएकामध्ये पुर्चौंडी ७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर ४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल १ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा ५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर ५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी-८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरालाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ। धनगढी लगिएकामा बसका चालक वीरेन्द्र बोहरासमेत छन्।
अन्य घाइतेहरूको भने डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी बताउँछ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।



