काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ बाट हुने कक्षा १२ को परीक्षा सारेको छ।
मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको थियो। तर पुन: साँझ बोर्डले बैशाख १२ गतेबाट परीक्षा सुरु गर्ने अवस्था नरहेको भन्दै २१ गतेबाट परीक्षा सुरु गरिने जानकारी दिएको हो।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बैशाख २१ गतेबाट परीक्षा सुरु गरिने जानकारी दिए। उनले विभिन्न असहज अवस्थाका कारण परीक्षा सार्नु परेको बताएका हुन।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुनेकी नहुने अन्योल रहँदै आएको थियो। परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी रहँदा विद्यार्थी र अभिभावक अलमलमा थिए।
देशभरका सरकारी विद्यालयका शिक्षकहरु आन्दोलनका लागि काठमाडौं केन्द्रित छन। उनीहरू २०२८ सालमा जारी भएको शिक्षा ऐन खारेज हुनुपर्ने मागसहित आन्दोलनमा छन। मंगलबार आन्दोलन २१ दिनमा आइपुग्दा पनि सरकार र शिक्षक महासंघ बीच सहमति हुन सकेको छैन।
आन्दोलन लम्बिदैं जाँदा शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा नै दिइसकेकी छिन। जसका कारण आन्दोलनलाई थप बल पुगेको शिक्षकहरू बताउँछन।
सरकारले भने महासंघले उठाएका सबै माग पूरा गर्न सम्भव नभएको बताउँदै आइरहेको छ। शिक्षा मत्रीको राजिनामा आएसँगै प्रधानमन्त्री केपी शर्मा ओली झनै दबाबमा परेका छन।
आन्दोलनरत पक्षले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत माग राख्दै आइरहेका छन। उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म परीक्षा संचालन गर्न नदिने बताउँदै आइरहेका छन।



