भक्तपुर। नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष २०८२´ आजदेखि सुरु हुँदैछ।
भक्तपुरको चागुनारायण नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, काभ्रेको मण्डन देउपुर नगरपालिका र बनेपा नगरपालिका गरि तीन जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष आयोजना हुन लग्गेको हो।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीका अनुसार, नगरकोटको बतासे डाँडामा अपरान्ह एक वजे राष्ट्रपति रामचन्द्र पाैडेलले भ्रमण वर्षको औपचारिक उद्घाटन गर्नेछन।
उद्घाटन समारोहमा पर्यटन मन्त्री बद्री पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा लगायतका बिशिस्ट अतिथिकाे उपस्थिति रहने चाँगुनारायण नगरपालिकाका नगर प्रमुख खत्रीले जानकारी दिए।
भ्रमण वर्ष अवधिभर १० लाख आन्तरिक र एक लाख बाह्य पर्यटक नगरकोटमा ल्याउने उदेश्यसहित चाँगुनारायण नगरपालिकाकाे बर्तमान नेतृत्वको पहिलाे वैठकले भ्रमण वर्ष मनाउने निर्णय गरेको थियाे।
पछि अन्य नगरपालिकासंग समन्वय गरेर भ्रमण बर्षलाई संयुक्त रूपमा मनाउने सहमति भएको चाँगुनारायण नगरपालिकाका उप प्रमुख रमेश बुढाथोकीले जानकारी दिए।
बुढाथोकीका अनुसार, भ्रमण बर्षमा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ। यस अभियानमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवर्द्धकको रूपमा रहेका छन्।
भ्रमण बर्षका बिज्ञ घनश्याम खतिवडाका अनुसार, कार्यक्रम सफल बनाउन मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएका छन्। त्यसै होमस्टे विस्तार, जातजाति, भेषभूषा, सांस्कृतिक कार्यक्रम र स्थानीय विशेषता उजागर गर्ने योजना अघि सारिएको छ।
उद्घाटन समारोहमा खानाका स्टल, कृषि सामग्री, गुरुङ समुदायको संग्रहालय र विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ। भ्रमण वर्षको क्रममा चारै नगरपालिका आ–आफ्नो क्षेत्र अनुसार छुट्टाछुट्टै कार्यक्रम समेत गर्ने छन्।
नगरकोटबाट आउने पर्यटकलाई अन्य पर्यटकीय स्थल डुलाउने, स्थानीय परिकार चखाउने र बसाइ लम्ब्याउने प्रयास समेत भ्रमण बर्षले गर्ने उप प्रमुख बुढाथोकीले बताए।
यसैबीच नयाँ बर्ष र भ्रमण बर्षका अवसरमा नगरकनेटमा पर्यटककाे चहलपहल बढेको छ। आइतबार नगरकाेटका सबै हाेटल पाहुनाहरूले भरिएको चाँगुनारायण -६ का वडाअध्यक्ष धनबहादुर लामाले बताए।
भ्रमण बर्षले स्थानीय सम्पदालाई पर्यटनसँग जोड्दै नगरकोटको समग्र विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख खत्रीको भनाइ छ।



