काठमाडौ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ संचालित होटल पौवाले आफ्ना १८ शाखामा एकसाथ स्वाद उत्सव आयोजना गरिरहेको छ।
नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने लक्ष्यसहित स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वाद उत्सव कार्यक्रम संचालन गरिरहेको हो।
चैत्र २५ गतेदेखि जारी स्वाद उत्सवमा नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति पाइन्छ। यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको पौवाका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए।

उनका अनुसार पाहुना समक्ष उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पुर्याउने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि उत्सवको लक्ष्य रहेको पौवा ब्यवस्थापनको दाबी छ।
‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ। यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो।’ कार्यक्रमबारे जानकारी दिँदै ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले भने।
उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको छ। ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ। स्वाद उत्सब शुक्रबार अर्थात चैत २९ गतेसम्म चल्ने छ।
नौलो प्रस्तुतिका रुपमा नौ वर्षअघि उदाएको पौवाले आफ्नो नामको भावलाई प्रतिबिम्बित गर्नेगरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ।
`जसरी विगतमा बाटोमा हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी पौवा भन्ने गरिन्थ्यो, आकाशबाट झरी पर्दा होस् वा आँधीतुफान आउँदा पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो। त्यसैगरी, होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ। पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको छ।´ ब्यवस्थापन पक्ष भन्छ।
स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन्।

अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए।
`नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ। सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ।´ भण्डारीले भने।
उनले पौवा आतिथ्य सेवालाई मुल मन्त्रको रुपमा सञ्चालित होटलका रुपमा स्थापित नाम भएको पनि बताए। संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको भण्डारीक दाबी छ।
`देश विकासको महत्वपूर्ण आयाम भनेको संस्कार र संस्कृतिको संरक्षण एवं सम्बर्द्धन पनि हो। नेपाली आतिथ्य संस्कृति विश्वमै अनुपम छ। संसारभरका पाहुनाहरूलाई न्यानो आतिथ्य संस्कारसहितको संस्कृति प्रदान गर्ने काम होटल पौवाले गर्दै आएको छ।´ उनले भने।
नौ वर्षअघि विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो। हाल पौवामा सात सय भन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।
नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भैरहेको छ। अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भई सकेको छ। यस्तै पौवाले सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना गर्न गैरहेको छ। अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ।
पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दैआएको छ जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको छ।




