काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरुलाई नेपालमा स्नातकोत्तर तह (पीजी) शिक्षा उपलब्ध गराउने वातावरण बनाउन पहल भैरहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्क पुगेका मन्त्री पौडेलले बुधबार माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटेका थिए।
सो भेटवार्ताका क्रममा मन्त्री पौडेलले यसअघि त्यहाँका स्वास्थ्य मन्त्रीसँगको वार्तामा भएका कुराकानीका आधारमा अध्ययनका लागि समिति गठन गरेर काम भैरहेको बताए।
वार्ताका क्रममा स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र माल्दिभ्सबीचको सम्बन्ध सुमधुर रहेको र नेपालमा अनुकुल महसुस गर्ने भएकाले त्यहाँका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि पठाउन आफूहरु इच्छुक रहेको बताइन्। भेटका क्रममा उनले चिकित्सकहरुका लागि नेपाल राम्रो गन्तव्य रहेकोसमेत बताएकी थिइन्।
जवाफमा मन्त्री पौडेलले यथासिघ्र तयारी पुरा गरेर अध्ययनका लागि वातावरण मिलाउने प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री पौडेलले नेपाल माल्दिभ्सका नागरिकलाई एमबीबीएस शिक्षा दिलाउनका लागि समेत तयार रहेको बताएका थिए।
मन्त्री पौडेलले यसअघि गत असोज ७ गते इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलीलसँगको वार्तापछि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउन आवश्यक सुझाव दिन संयुक्त समिति गठन गरेका थिए।
माल्दिभ्सले नेपालले वातावरण बनाएमा पीजी विद्यार्थी पठाउने बताए पछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवर्द्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए।
सोही अनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आसयको प्रतिवेदन दिएको थियो।
सोही आधारमा मन्त्री पौडेलले सम्झौताको तयारी गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुषाल संयोजकत्वको सात सदस्यीय समिति गठन गरेका थिए। सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन मन्त्री पौडेलले समितिमार्फत सुझावको अपेक्षा गरेका छन्।
विदेशी विद्यार्थी अध्ययन गर्ने वातावरण तयार पार्न सकिएमा नेपालका मेडिकल कलेजहरुको आयमासमेत वृद्धि हुने र मेडिकल शिक्षाको स्तर सुधार गर्नसमेत सकिने मन्त्री पौडेलको विश्वास छ।



