काठमाडौं। सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत चेतावनिमुलक सन्देश तथा चित्रहरु राख्नु पर्ने नियम लागू गर्न चिकित्सक संघले नेपाल सरकारसँग जोडदार माग गरेको छ।
सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत भागमा चेतावनीमुलक स्वास्थ्य सन्देशयुक्त चित्र राख्ने निर्देशिकालाई रोक्ने गरि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको पत्रप्रति चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको भन्दै शत प्रतिशत चेतावनिमुलक सन्देश तथा चित्रहरु राख्नु पर्ने नियम लागू गर्न सरकारसँग माग गरेको हो।
उद्योग मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत भागमा चेतावनीमुलक स्वास्थ्य सन्देशयुक्त चित्र राख्ने निर्देशिकालाई कार्यान्वयनमा पुनरावलोकन गर्नु भन्दै १७ चैतमा पत्र पठाएको थियो।
उद्योग मन्त्रालयको सो कदमप्रति सर्वत्र आलोचना भैरहेको समयमा चिकित्सक संघलेसमेत उद्योगको सो पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको भनेको हो।
`धूमपान तथा सुर्तीजन्य पदार्थको उपभोगले मुटुरोग, दम, मुख तथा फोक्सोको क्यान्सर जस्ता गम्भीर स्वास्थ्य समस्या उत्पन्न भई नेपालमा बर्षेनी हजारौँको संख्यामा ज्यान जाने गरेको तथ्य सार्वजनिक भईरहेको छ। मानिसको स्वास्थ्यमा गम्भीर प्रतिकुल असर पार्ने यस्ता वस्तुको उपभोग कम गर्न आम नागरिकहरुमाझ यस्ता पदार्थको उपभोगबाट आइपर्ने जोखिमको बारेमा जनचेतना फैलाउन अत्यन्त आवश्यक रहेको छ।´संघका महासचिव डा सञ्जीव तिवारीले मंगलबार जारी विज्ञप्तीमा भनिएको छ।
`क्यान्सरको उपचार मात्र नभई रोकथाम गर्नका लागि यस्ता पदार्थको प्याकेटमा शत प्रतिशत चेतावनिमुलक सन्देश तथा चित्रहरु राख्नु पर्ने नियम लागू गर्न चिकित्सक संघले नेपाल सरकारसँग जोडदार माग गर्दछ।´ संघको विज्ञप्तीमा भनिएको छ।
संघले नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर दक्षिण एशियामै सबैभन्दा न्युन रहेको भन्दै यसमा बृद्धि गर्दै त्यसबाट आएको रकम स्वास्थ्य क्षेत्रको विकासमा उपयोग गरि स्वस्थ समाज निर्माणम सहयोग पुर्याउन सरकारलाई अनुरोध गरेको छ।



