थाइल्याण्ड। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणका क्रममा नेपालको आँखा उपचार सेवाको विकास र विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल नेत्रज्योति संघ र थाइल्याण्डको महिडोल विश्वविद्यालयका बीचमा बुधबार आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको समुपस्थितिमा दुई संस्थाबीच सो समझदारी भएको हो।
समझदारीपत्रमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा संकाय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरेका छन।
नेपाल नेत्रज्योति संघलेसमेत समझदारीपत्रमा हस्ताक्षर भएको बताएको छ। आँखा उपचार सेवाको विकास र विस्तारका लागि ज्ञान, विशेषज्ञता र प्रविधिहरू आदान–प्रदानका लागि दुई संस्थाका बीचमा समझदारी भएको संघले जनाएको हो। अब दुई संस्थाले थाइल्याण्ड, नेपाल तथा अन्य देशहरूमा आँखा परीक्षणलगायतका आँखा हेरचाहसम्बन्धी कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन्।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले समझदारीपछि नेपाल र थाइल्याण्डका नेत्र विशेषज्ञ तथा अन्य आँखा सेवामा संलग्न विज्ञहरूको अनुभव तथा क्षमता अभिवृद्धि गर्न संयुक्त रूपमा सहकार्य हुने बताए।
महिडोल विश्वविद्यालय थाइल्याण्डको सबैभन्दा पुरानो र प्रतिष्ठित चिकित्सा संस्था मानिन्छ। सन् १८८८ मा तत्कालीन राजा चुलालोङ्कोर्न (राम पञ्चम) द्वारा स्थापना गरिएको चिकित्सा अनुसन्धान र शिक्षामा उत्कृष्टता हासिल गरेको सो विश्वविद्यालयले स्वास्थ्य सेवाको प्रवर्द्धनमा विश्वव्यापी रूपमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताइन्छ।
सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति संघ नेपालकै अग्रणी गैरसरकारी संस्थाका रुपमा स्थापित छ। संघले सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ।
२८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र, र ४५ जिल्ला शाखामार्फत् संघले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ।
दुई संस्थाका बीचमा भएको यो समझदारीलाई नेपाल–थाइल्याण्ड सहकार्यमा नयाँ अध्यायको सुरुआत मानिएको छ। यसले उच्च गुणस्तरको आँखा उपचार सेवा प्रदान गर्ने र यस क्षेत्रभरि रोकथाम गर्न सकिने अन्धोपन कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संघले लिएको छ।



