काठमाडौं। यतिबेला देशैभर दशैंको रौनक छ । स्वदेश र विदेशबाट दशैं मनाउन घर फर्कनेहरु उत्साहका साथ फिर्ता हुँदै छन्। गाउँघरमा आफन्त तथा इष्टमित्रहरुको भेटघाट बाक्लो छ। वर्षौ नभेटिएका आफन्तहरु भेटघाट हुने मेलो यही दशैंमा मिल्दछ। दशैंमा टिका र जमरा थाप्ने प्रचलन छ।
तर सिंगो देश दशैंको माहोलमा रमाउँदै गर्दा ललितपुरको खोकनामा भने दशैं आएको छैन। खोकनामा दशैंका लागि जमरा राख्ने, फुलपाती भित्राउने कुनै कार्यक्रम हुँदैन। खासमा खोकनामा दशैं मनाइदैन। यतिबेला खोकनामा दशैंको सट्टा सिकाली गणनृत्य जात्रा भइरहेको छ। खोकनालाई दशैं नहुने देश पनि भनिन्छ।
प्रत्येक वर्ष आश्विन शुक्ल तृतीया र कार्तिक पूणर्िमाका दिन दुई पटक खोकनामा पाटन बुबहालका तान्त्रिक गुरुजु चैत्य राज बज्राचार्यद्धारा सिकाली गणनृत्य नचाउने परम्परा छ।
घटस्थापनाको दिन खोकनामा मचाः पूजा हुन्छ। किराँती भेषमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको मन्दिरमा लगेर भब्य रुपमा विशेष पुजा गर्ने प्रचलन खोकनामा छ। यसरी गरिने पुजा गोप्य हुन्छ भने पुजा चारदिनसम्म चल्छ। त्यस समयमा सो चौरमा मानिसँगै पशुपन्छीलाई समेत प्रवेश दिइदैन। खोकनाको इष्टदेवी सिकाली अजिमाँको मन्दिर १८७७ मा र १९०१ म राजा महदेन्द्रबाट जीणर्ोद्धारा भएको खुल्दछ। खोकना क्षेत्रको मुख्य आराध्यादेवी नै श्रीकालीलाई मानिन्छ।
तृतीयाका दिन रुद्रायणी गुठीका सदस्यहरु दिनभर व्रत बस्छन्। चौथो दिन खोकनाका प्रत्येक घरमा छ्यलाबु गरी भोज गरिन्छ। पञ्चमीका दिन खोकनामा मुख्य जात्रा हुन्छ। रुद्रायणी मन्दिरबाट देवतालाई बाहिर निकालेर खटमा राखिन्छ। बिहान १२ बजेतिर खटमा राखिएका देवतालाई बोकेर सिकाली मन्दिमरा लगेर प्रतिस्थापन गरिन्छ।
छैटौं दिन भने सिकाली मन्दिरमा नृत्य आयोजना हुन्छ। रुद्रायणी देवगणहरुले सिकाली मन्दिरमा नृत्य गर्ने गर्छन। यसरी नृत्य गर्नेहरु गुठीमा आबद्ध १४ जना हुन्छन। उनीहरु आफूले निर्वाह गर्नुपर्ने देवताको भूमिकाको ख्वापाः (मुकुण्डो) र वस्त्र लगाएर मन्दिर परिसरमा नाच्ने गर्छन।
सिकाली जात्राका बेला देखाइने नाचहरुको जिम्मा श्री रुद्रायणी गुठीमा हुन्छ। गुठीमा रहेका ४६ जना देवगण(गुठीयार)हरु बीच कार्य विभाजन गरिन्छ।
सिकाली जात्र अन्तर्गत १४ देवीदेवता(रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायण, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ ४६ जना मध्ये १४ जना नृत्यका लागि तयार हुन्छन्।
सबै देवगणहरुलाई मन्दिर भित्र लगेर वीरभद्र, महाकालीका रुपमा तान्त्रिक विधिबाट मन्दिर बाहिर निकालिन्छ र सिकाली परिसरमा नचाइन्छ। सिकाली चौरबाट नाच्दै उनीहरुले गाउँ परिक्रमा गर्छन।
सप्तमीका दिन राति क्वँलाछीमा नाच देखाइन्छ। अष्टमीमा रुद्रायणी मन्दिरमा मूर्ति र ख्वापाः(मुकुण्डो) पुन प्रतिस्थापन गरिन्छ । जात्राकै समय त्यहाँ आफन्तहरुलाई बोलाइन्छ र भोज गरिन्छ।
विजया दशमीको दिन भने खोकना सुनसान हुन्छ। त्यहाँ दशैं मनाइदैन। त्यहाँका स्थानीयहरु कतै गएर टिका लगाउने र आशिर्वाद लिने गर्दैनन्। उनीहरु घटस्थापनादेखिको जात्राको थकाइलाई सो दिनमा आराम गरेर मेटाउने गर्छन। त्यस दिनलाई जात्रा सकाएर आराम गर्ने दिनका रुपमा मानिन्छ।
यसरी मनाइने जात्रालाई अश्वमेघ यज्ञको समयमा दक्षप्रजापतिले भगवान महादेवलाई गरेको अपमान सहन नसकि सतिदेवी अग्नीकुण्डमा हामफालेपछि उत्पन्न भयावहको स्थिति उजागर भएको जात्राको रुपमा लिइन्छ। जुन स्वस्थानी व्रत कथासँग सम्बन्धित छ।
सिकाली गण नृत्य नेपाल संवत ६३३ मा राजा अमर मल्लले गुठि राखी शुरु गरेको बताइन्छ। १२ वर्षको एक पटक सिकाली गण नृत्य काठमाडौं हनुमानढोका, पशुपति लगायतका ठाउँमा लैजाने परम्परा छ।



