काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग भेटवार्ता गरेकी छन।
भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज साइडलाइन भेटवार्ता भएको हो।
त्यस भेटका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री डा. राणाले हमासको नियन्त्राणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरेकी छन।
विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उनले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको जानकारी गराएकी थिइन्।
इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासहरुले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए।
उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ। विश्वका नेता एवं आफ्ना समकक्षीहरुसँगको भेटमा मन्त्री डा. राणाले विपिन रिहाइका लागि सहयोगको याचना गर्दै आएकी छिन।
सो भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।



