काठमाडौं। यस वर्षको विजयादशमीको टीकाको शुभ साइत ११ बजेर ३६ मिनेटमा निर्धारण गरिएको छ।
तर, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेटका लागि टीकाको शुभ साइत तोकिएको भएपनि देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला टीका लगाउन सकिने उल्लेख गरेको छ।
शनिबार बिहान ८ बजेर ३३ मिनेटमा विजयादशमीको देवी विसर्जनको समय रहेको समितिले जनाएको छ। देवी विसर्जन गरेपछि टिका लगाउने गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइत ११ बजेर ३६ मिनेटमा ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट विजयादशमीको टीका लगाउने भएका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका हुन्।
त्यसपछि राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विजयादशमीको टीका आफूलाई उपयुक्त हुने समयमा लगाउन सकिने जनाएको छ ।
दशैँको टीका एकादशीदेखि पुर्णिामासम्म लगाउने चलन छ। केही स्थानमा भने टीकाको दिन मात्रै पनि टीका लगाइने गरिएको छ।



