काठमाडौं। `गाजलु ती ठुला ठुला आँखा', 'किन किन तिम्रो तस्बिर', 'लोलाएका ती ठुला तिम्रा दुई नजर', 'के छ र दिऊँ तिमीलाई मैले' लगायत कालजयी गीत गाएका पाकिस्तानी चर्चित गजलकार गुलाम अली नेपाल आएका छन।
अली आगामी शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रममा सहभागी हुन दुबई हुँदै बिहीबार नेपाल आइपुगेका हुन। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारीहरुले स्वागत गरे।
साधना कला केन्द्रले आयोजना गर्न लागेको कार्यक्रममा उनले शनिबार करिब तीन घण्टा आफ्नो गजल प्रस्तुत गर्ने छन। अली ११ सदस्यीय ब्यान्डसहित नेपाल आएका हुन्। उनीसँगै उनका छोरा अमिर र नाति नाजिरले पनि कार्यक्रममा प्रस्तुति दिने आयोजक संस्थाका प्रमुख मिलन मोक्तानले जानकारी दिए।
उनका ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ लगायत हिन्दी गीत पनि चर्चित छन्।
कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमलाई विशेष सम्मानसमेत गरिने आयोजकले जानकारी दिएको छ ।



