काठमाडौं। बाराको परवानीपुरमा रहेको म्याग्नस फर्माले नेपालमा नै पहिलोपटक प्यारेन्टेरल तथा इन्जेक्टेबल औषधि उत्पादनका लागि ठूलो लगानीसहित स्टेलाइल प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ।
म्याग्नस फर्माले क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया आदिका प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु उत्पादन गर्न लागेको हो। यी औषधि उत्पादनका हिसाबले नेपालमा नै पहिलोपटक उत्पादन हुने कम्पनीले दावी गरेको छ।
कम्पनीका प्रबन्धक निर्देशक सुधीर प्रकाश मास्केले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेर मेगनस फर्माले प्यारेन्टेरल तथा इन्जेक्टेबल औषधि उत्पादनको प्लान्ट निर्माण गरेको बताउदै उत्पादनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिए।
`प्लान्टमा प्रयोग गरिएका प्रविधि अत्याधुनिक र अन्तरास्ट्रिय स्तरको छ, उत्पादन पद्धति र प्रणाली सबैमा विषेश तथा नयाँ प्रयोग गरिएको छ, अन्तरास्ट्रिय बजारमा प्रवेश गर्नेगरि गुणस्तरीय औषधि उत्पादन गर्ने हाम्रो लक्ष्य हो।´ कम्पनीका प्रवन्ध निर्देशक मास्केले भने।
उनले विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक किसिमबाट उत्पादन गर्ने गरि प्लान्ट निर्माण गरिएको बताए।

स्टेराइल प्लान्ट एक विशेष प्रकारको उत्पादन प्लान्ट हो, जहाँ कुनै पनि प्रकारको जीवाणु, किटाणु, भाइरस तथा त्यसको अवयव रहित औषधि बनाउने प्रक्रिया हुन्छ।
म्याग्नस फर्माको सो प्लान्टको लेआउट भारतको दोशी कन्सल्टेन्टले डिजाइन गरेको हो। जुन प्लान्ट अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फर्मास्युटिकल्स सुविधा प्रयोग गरी नियामक मापदण्ड पूरा गरेर निर्माण गरिएको छ।
कहिलेदेखि हुन्छ उत्पादन?
एक अर्ब बढी लगानी रहेको नयाँ प्लान्टमार्फत आगामी बैशाख देखि प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु उत्पादन सुरु हुने प्रवन्ध निर्देशक मास्केले जानकारी दिए। उनले नयाँ प्लान्टबाट थेराप्युटिक सेगमेन्टका विभिन्न औषधीहरु उत्पादन हुने बताएका हुन।
नयाँ प्लान्टबाट अब क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया सम्वन्धी उपचारमा प्रयोग हुने प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु उत्पादन गरिने छ।

बन्नेछ सिधै रगतमा जाने औषधि
प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु सिधै ब्यक्तिको रगतमा दिइन्छ। म्याग्नस फर्माका गुणस्तर हेर्ने विभागका कमलेश कुमार यादवले यी औषधि विशेष प्रकारको हुने बताए। उनका अनुसार अन्य औषधि उत्पादनमा भन्दा यो औषधिको उत्पादनमा झनै विशेष सावधानी अपनाउने गरिन्छ।
‘यो औषधि सिधै नसा मार्फत ब्यक्तिको ब्लडमा जाने भएकाले ब्लड जस्तै शुद्ध बनाइन्छ, यी औषधि उत्पादनमा अन्य औषधि भन्दा झनै बढी सावधानी र सुरक्षात्मक उपाय अवलम्बन गरिन्छ,´ यादवले भने।
कम्पनीकी चिफ एक्जुक्युटिभ मञ्जुली श्रेष्ठले सन २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको म्याग्नस फर्मा विगत १६ वर्षको अवधिमा देशकै प्रमुख औषधि उत्पादक कम्पनीका रुपमा स्थापित भएको बताइन। उनले म्याग्नस फर्माले ५ वटा औषधिहरु नेपाली बजारमानै पहिलोपटक र ३४ भन्दा बढी प्रकारका औषधिहरु पहिलो पटक नेपालमा उत्पादन गरेको जानकारी दिइन।
२०७ प्रकारका औषधि बजारमा नै
म्याग्नस फर्माले हाल २०७ प्रकारका ओएसडी औषधीहरु उत्पादन गरिरहेको छ। फर्माका अध्यक्ष सन्दिप तुल्सियानले कम्पनीले सो संख्यामा औषधि उत्पादन गरिरहेको बताएका हुन। उनका अनुसार ती औषधिहरु गुणस्तरीय तथा बजारमा स्थापित छन।
मुल्यका हिसाबलेसमेत बजारमा उपलब्ध म्याग्नसका औषधिहरु गुणस्तरीय, सस्तो तथा सर्वसुलभ छन। अन्य कम्पनीका औषधिको गुणस्तर तथा मुल्य दुबैको तुलनामा म्याग्नसका औषधि अगाडी रहेको कम्पनीको दाबी छ।
चुनौतीका बिचमा नयाँ प्लान्ट
कम्पनीका प्रबन्ध निर्देशक मास्केले औषधि उद्योगका क्षेत्रमा चुनौती बढिरहेको बताउँदै त्यसलाई छिचोल्दै अघि बढ्ने उद्देश्यसहित नयाँ प्लान्ट निर्माण गरिएको बताए।
`औषधि उद्योगमा चुनौती बढ्दो छ, विदेशी औषधिलाई नियमन गर्न सक्ने अवस्थामा सरकार छैन, नेपाली औषधि उद्योगले त्यसको मार खेपिरहेकै छन, तमाम कठिनाइ, बाधा, अवरोधका बाबजुद हामी इन्जेक्टेबल प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छौं,´ मास्केले भने।
उनले गुणस्तरीय तथा सुरक्षित औषधी प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार रहेको बताउँदै कम्पनीले औषधिको गुणस्तरीयतामा कुनै पनि सम्झौता नगरेको र नगरिने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रमुख उत्पादन यी हुन
म्याग्नस फर्माले आफ्नो कम्पनीमार्फत नेपाली बजारमै पहिलोपटक मधुमेह सम्बन्धि रोगको उपचारमा प्रयोग हुने GLIPTIN (Sitagliptin), अल्जाइमर्सको उपचारमा प्रयोग हुने DOPEZIL (Donepezil) लगायतका औषधीहरुको उत्पादन गरेको छ।
त्यस्तै, हेपाटाइटिस सी र बी जस्ता रोगहरुका लागि अत्यावशयक औषधिहरु SOFUVIR (Sofosbuvir), TENOF (Tenofovir), ENTECA-B (Entecavir) जस्ता औषधीहरु नेपाली ब्रान्डमा पहिलोपटक म्याग्नस फर्माले उत्पादन गरेको हो।
यस्तै मिर्गौला रोगका लागि अत्यावश्यक SONATE ( Sodium bicarbonate) र LONID (Clonidine) जस्ता औषधिहरु पनि उत्पादन गरिरहेको कम्पनीले बताएको छ।
यी औषधिहरु विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास मापदण्ड अनुसार उत्पादन गर्दै आइएको कम्पनीले जनाएको छ।
भेनेजुएला र मोरिससमा पनि पठाइँदै
म्याग्नस फर्माका प्रवन्ध निर्देशक मास्केले कम्पनीबाट उत्पादित औषधिहरु देशको सिमाभित्र मात्र सिमित नभएर विदेशमासमेत निर्यात हुँदै आएको जानकारी दिए। उनका अनुसार फर्माले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेर औषधि उत्पादन गरेकैले अन्तर्राष्ट्रिय बजारमासमेत औषधिले प्रवेश पाएको बताए।
`हामीले उत्पादन गरेका औषधि स्वदेशमा मात्र होइन विदेशमा पनि निर्यात भैरहेको छ, भेनेजुएला र मोरिससबाट म्याग्नसका औषधिको माग राम्रो छ, हामीले गुणस्तरीय उत्पादनकै कारण निर्यात बढाउन सक्ने स्थिति बनेको छ, अझै युरोपियन स्ट्यान्डर्ड पूरा गरेर निर्यात अन्यत्रसमेत बढाउने प्रयासमा छौं,´ मास्केले भने।
उनका अनुसार हाल भेनेजुएला र मोरिससमा एक करोड मूल्य बराबरको औषधि निर्यात भैरहेको छ।
३५० बढीलाई रोजगारी
म्याग्न्स फर्माले देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान पुर्याउँदै रोजगारीको क्षेत्रमासमेत योगदान दिएको छ। ५० जना कर्मचारी राखेर सुरु गरेको म्याग्नस फर्माको कम्पनीमा हाल करिब ३६६ कर्मचारी तथा कामदार कार्यरत छन। फर्मामा कार्यरत सामान्य कर्मचारी पनि उच्च शिक्षा अध्ययन गरेका छन।
कम्पनीका वित्तिय निर्देशक विनित लोहिया कम्पनीले नयाँ बनेको प्लान्ट र अत्याधुनिक वेयरहाउसमा गरेर थप एक अर्ब भन्दा बढी लगानी गरेको बताउँछन्।
‘हामीले उच्च गुणस्तरको औषधि उत्पादनको लागि कुनै सम्झौता नगरिकन लगानी गरेका छौं, देशको वर्तमान सिथिल अर्थतन्त्र तथा रोजगारी प्रवर्द्धनमा थोरै भएपनि टेवा पुग्ने विश्वास लिएका छौं,’ लोहियाले भने।

बढ्दो बजार, दायरा र बिक्री
म्याग्नसका औषधि पहिलो वर्ष नै ६ करोड मूल्य बराबरको बिक्री भएको कम्पनीको रेकर्डमा छ। यस्तै आर्थिक वर्ष २०७६/०७७ मा फर्माले एक अर्बको औषधि बिक्री गरेको थियो भने गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब १६ करोडको कारोबार गरेको कम्पनीले जनाएको छ।




