काठमाडौँ। नुवाकोटको बेत्रावतीमा बाढी गएको ११ औँ दिनमा जीवितै उद्धार गरिएकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई नुवाकोटबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
उनको छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार जारी छ। शनिबार दिउसो १ बजेतिर भदौ १० गतेको भोटेकोसी बाढीले बगाएर करिब १०० मिटर तल पुर्याएको घरभित्र उनी जीवित फेला परेकी हुन्।
उक्त घरको चार तलाको माथिल्लो तलाको अधाभाग मात्र देखिने अवस्थामा थियो। उक्त घरमा मानिसको आवाज सुनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली उद्धारमा खटिएको थियो।
उद्धार सुरु भएको करिब ४५ मिनेटमा उनलाई घरको झ्यालबाट सुरक्षाकर्मीले जीवितै निकालेका हुन्। लगत्तै उनको नुवाकोटमै स्वास्थ्य परीक्षण गरिएको थियो भने थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो।
श्रेष्ठका सम्धी रमेशमान श्रेष्ठले आफ्नी सम्धिनी भेटिएकोमा खुसी ब्यक्त गरे। उनले भगवानले सम्धिनीलाई दोस्रो जन्म दिएको भन्दै खुसी व्यक्त गरे। उनी सम्धिनी जीवितै भेटिएको खबर पाएपछि अस्पतालमा नै भेट्न पुगेका थिए। तर उनलाई सेनाले परीक्षण र उपचार चलेकाले चण्डिकासँग भेट गर्न दिएको छैन।
रमेशमानकाअनुसार दुईपटकसम्म खोजी गर्दा पनि नभेटिएपछि चण्डिकाको विष्णुमति नदी किनारको बिजेश्वरीमा आठौं दिनमा कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो। त्यसपछि उनको सानोभर्याङस्थित घरमा गत भदौ १८ बाट काजकिरिया थालिएको थियो।
चण्डिकाकी भतिजी रिसिका श्रेष्ठका अनुसार आज चण्डिकाको ११ औं दिनको काम भइरहेको थियो। तर जीवितै भेटिएको खबर पछि ब्राह्मणले विधिपूर्वक किरिया फुकुवा गराएका छन्। किरिया बसेका उनका छोराहरुले पनि शनिबारबाट नै किरियाघर छाडेका छन्।
चण्डिकासँँगै उनका श्रीमान् पनि बाढीपछि बेपत्ता छन्। उनी भेटिएपछि श्रीमान् पनि फेला पर्ने आश परिवारमा पलाएको छ। बुवा पनि फेला पर्ने आशा बढेको रिसिकाले जानकारी दिइन्। फेला नपरेको अवस्थामा भने पछि विधिपूर्वक काम गरिने उनको भनाइ छ।



