काठमाडौं। गीतकार एवम चर्चित ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीका तीन वटा भिडियो एवम अडियो गीत सार्वजनिक भएका छन्।
शुक्रबार पराशक्ती ज्योतिष सेवा तथा कर्मकाण्ड संस्थानको आयोजना तथा गीतकार संघ नेपालको संयोजनमा डा.अधिकारीका दुई भिडियो र एक अडियो गीत सार्वजनिक गरिएको हो।

अधिकारीका गीति भिडियोहरु ‘अब अति भइसक्यो, जागौं’ (राष्ट्र भक्ति गीत) ‘आमा’ (मातृ भक्ती गीत) र ‘आउन माया आउ मेरो हात समाउ’(प्रेमिल गीत) लगायत अन्य अडियो कृतिहरु सार्वजनिक गरिएको हो।
उक्त कृतिहरुको लोकार्पण देशका वरिष्ठ श्रष्ठा, संगीत प्रेमी र पारखीहरुसहित विभिन्न सङ्घ संस्थाका प्रमुख, सामाजिक व्यक्तित्वहरु तथा केही अधिकारीका शुभचिन्तक विदेशी भक्तहरुको समेत सहभागिता एवं उपस्तिथि थियो।

गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको अध्यक्षता तथा गीतकार दीपक थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनका उक्त कृतिहरुको समिक्षा वरिष्ठ गीतकार बिष्णु देवकोटाले गरे।
कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताकाबारेमा चर्चा गरेका थिए।
त्यस्तै गीतकार संघका अध्यक्ष बसन्त थापाले डा.अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे।

डा.अधिकारीले रचना गरेका गीतहरुमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन्।
शुक्रबार सार्वजनिक भएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा डा.अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ।
आफ्ना बिचार र अभिव्यक्ति राख्ने क्रममा डा अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्रदेखि कार्गिलको युद्ध लगायत इराक, अफगानिस्तान जस्ता संसारका विभिन्न देशका युद्ध ग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षित र कुशल रहेको तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको बताए।

उनले पटकपटक देशभित्रैका केही तत्व र आतंककारीहरुबाट आफूसहित परिवारै प्रताडित हुनुपरेको पिडाहरु समेत व्यक्त गरे।



