काठमाडौं। एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १५ करोड १७ लाख रुपैयाँ कमाएको छ।
सो नाफा गत आवको यसै अवधिको भन्दा ९२ प्रतिशतले घटेको हो। जबकि गत आर्थिक वर्षको यसै अवधिमा नाफा १ अर्ब ९० करोड रुपैयाँ थियो।
कम्पनीको नाफामा उच्च गिरावट आउनुको प्रमुख कारण संभावित कर्जा नोक्सानीवापतको व्यवस्थापन रकम (लोन लस प्रोभिजन) उच्च दरले बढ्नु हो। यस्तो रकम पहिले ४८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३५ करोड छ।
बैंकको खुद ब्याज आम्दानी जम्मा ६ प्रतिशत घटेको छ। यस्तो आम्दानी पहिले ५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले ५ अर्ब १८ करोड रुपैयाँ छ।
नाफामा आएको भारी गिरावटले वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ३ पैसामा झरेको छ। यस्तो आम्दानी पहिले २५ रुपैयाँ ५९ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ पनि खुम्चिएको छ। प्रतिसेयर नेटवर्थ पहिले २०५ रुपैयाँ रहेकोमा अहिले १९८ रुपैयाँ छ।
पुस मसान्तसम्म कुल कर्जामा बैंकको निष्क्रिय कर्जा १.४७ प्रतिशत छ। यस्तो कर्जा पहिले ०.५८ प्रतिशत थियो।



