मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ओलीमाथि खनिएका रावल नयाँ पार्टी निर्माणबारे मौन

ओलीमाथि खनिएका रावल नयाँ पार्टी निर्माणबारे मौन

images
२०८१ पौष १७ गते, बुधवार
२०८१ पौष १७ गते, बुधवार
  • काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गरेका छन् । पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकारी दिन बुधबार काठमाडौँ पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिबिम्ब भएको बताए ।

    images

    उनले राजनीति आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने भए पनि केपी ओलीले आफूसँग संवाद नै नगरी स्पष्टीकरण सोधेको कारण स्पष्टीकरण नदिएको बताए । उनले पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रस्टीकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट भएको बताए । उनले कथित स्पष्टीकरणको जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको गुनासो गरे । 

    images

    उनले भने, ‘मलाई पार्टी गतिविधिमा निषेधित गरिएका अनेकौँ घटनाक्रमहरूले सम्झायो । पार्टीमा मेरो लागि कुनै स्थान उल्लेख नहुनु केपी ओलीमा मप्रतिको द्वेष पूर्वाग्रह, निषेधात्मक गतिविधिको प्रतिबिम्ब हो । मलाई विगतका कुरा कोट्याएर घाउ कोट्याए जस्तो गर्नु थिएन । कथित स्पष्टीकरणबारे ओलीले नै स्पष्ट पार्नुपर्ने । कुनै पनि संस्थामा कार्यरत व्यक्तिलाई तत्काल गरिएको कुनै कामबाट संस्थाको विधान वा हित विपरीत काम भएको लागेमा वा देखिएमा व्यक्तिको पृष्ठभूमि वा पर्न सक्ने असरलाई ध्यानमा राखेर छलफल वा कुरा गरिन्छ । राजनीति र त झन् आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने हुँदा छलफल र संवादले प्राथमिकता पाउँछ । निर्देशनको आधारमा चल्नुपर्ने प्रशासनिक क्षेत्रमा समेत स्पष्टीकरण सोध्नुअघि छलफल गर्नुपर्ने परिपाटी छ । यस्तो परिपाटी विपरीत केपी अ‍ोलिबाट म जस्तो पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रस्टीकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट हुन्छ । अझ तीन वर्षदेखिका कुरा स्पष्टीकरणमा सोधिनु हास्यास्पद छ । अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने देखिन्छ ।’

    त्यस्तै, रावलले तत्कालै नयाँ पार्टी घोषणा नगर्ने बताएका छन् । उनले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य रहेको बताएका छन् ।  गैरवामपन्थी एवं राष्ट्रवादी धारको नयाँ दलको गृहकार्य थालेका रावलले पत्रकार सम्मेलनमा त्यसबारे प्रस्ट धारणा राखेनन् । बरु, पूर्वदेखि पश्चिमसम्म जागरण अभियान सुरु गर्ने संकेत गरेका छन् । त्यो अभियानलाई उनले मातृभूमि जागरण अभियान नाम दिएका छन् ।

     ‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्या समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ,’ नेता रावलले भने । 

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend