काठमाडौँ। शिक्षामन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा मन्त्रीहरूसँग छलफल गरेका छन्।
छलफल कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीच सहकार्य र समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।
छलफलमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना, TVET विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा विचार–विमर्श भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
कार्यक्रममा मन्त्री पोखरेलले सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै शिक्षा र खेलकुदका क्षेत्रमा दुवै तहका सरकारबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिए।
यसैगरी १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्ने, TVET विधेयक आपसी छलफलबाट टुंग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने विषयमा सहभागीले प्रतिबद्धता व्यक्त गरेका थिए।



