काठमाडौं। २०८० सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी १६ मंसिरका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ।
रास्वपाले उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको हो। निर्वाचन कानुन् अनुसार निर्वाचनमा भाग लिनु अघि निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ता गर्नु पर्छ। दल दर्ता गराएका दलले मात्रै निर्वाचनमा भाग लिन पाउने छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता भएका छन्।
दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ। यस्तै दोस्रो नम्बरमा मंगोल नेशनल अर्गनाइजेशन दर्ता भएको छ।
यसैगरी नेपाली कांग्रेस तेस्रो नम्बरमा तथा जनता समाजवादी पार्टी नेपाल चौंथो नम्बरमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै पाचौंमा नेपाल समाजवादी पार्टी, छैठौंमा नेकपा माओवादी केन्द्र, आठौंमा राप्रपा दर्ता हुँदा नेकपा एमाले १३ नम्बरमा दर्ता भएको छ भने रास्वपा १४औं नम्बरमा दर्ता भएको आयोगले जनाएको छ। अन्तिममा नेपाली जनता दल दर्ता छ।



