काठमाडौँ। दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बसबाट ३५ सय ८५ यात्रुले सेवा लिएका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा विजया दशमीका लागि निःशुल्क बस सेवा संचालन गरेका थिए। सार्वजनिक यातायातका साधन कम चल्ने हुँदा हरेक वर्ष यस्तो सेवा संचालन गरिंदै आइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १४ सय ६ जना यात्रु लाभान्वित भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीनवटा बस निःशुल्क सञ्चालन गरिएका थिए।
काफ्लेका अनुसार महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका हुन्।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म २१ सय ७९ जना सर्वसाधारण लाभान्वित भएका छन्।
सशस्त्र प्रहरीले गत सोमबारदेखि दुईवटा बसमार्फत सञ्चालन गरेको सेवा आज शुक्रबारसम्म जारी रहने जनाएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५० जना, मङ्गलबार ६१६ जना र बुधबार अर्थात् विजयादशमीका दिन एक हजार ११३ जना नागरिकले निःशुल्क बस सेवा लिएका थिए।



