भक्तपुर। भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मोडुलर आइसियु सेवा सुरु भएको छ।
बिहावार एक समारोहका बीच मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मोडुलर आइसियु सेवाको उद्घाटन गरेका हुन्।
सो क्रममा नगर प्रमुख एवम् अस्पताल संचालक समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले आफु निर्वाचित भएर आएदेखि नै अस्पतालमा सेवा लिन आउने विरामीले गुणस्तरीय सेवा पाउन भन्ने उदेश्यले काम गरिरहेको बताए।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मुलुककै नगरपालिकाबाट सञ्चालित सबैभन्दा सुविधासम्पन्न अस्पताल बनेको उल्लेखगर्दै नगर प्रमुख श्रेष्ठले यो अस्पताल विमा क्लेम गर्ने पाँचौं ठुलो अस्पताल बन्नु आफैमा गौरवको कुरा भएको बताए।
सेवा सुविधामा बृद्धी र सेवामा गुणस्तरीयताकै कारण अस्पतालमा बर्सेनि विरामी बढ्ने क्रममा रहेको नगर प्रमुख श्रेष्ठको भनाई थियो। बिरामीको गुनासो समाधानमा अस्पताल प्रशासन लाग्नु पर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिए। नयाँ बिल्डिङ सम्पन्न हुने क्रममा रहेको र त्यो सम्पन्न भएपछि विरामीले धेरै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख श्रेष्ठको भनाई थियो।
अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिन समेत खरिद गरेर वडा वडामा सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पताल भित्रमा पर्न सफल भएको नगर प्रमुख श्रेष्ठले बताए।
उनका अनुसार, चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरिएको छ। अब छिटै कार्डियो सेवा समेत शुरू गर्ने तयारी भइरहेको जानकारी दिदै नगर प्रमुख श्रेष्ठले मुटुका बिरामीलाई लक्षित गरेर ए ग्रेडको एम्बुलेन्स समेत खरिद गर्न लागिएको बताए।
मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख बिजय कृष्ण श्रेष्ठले अत्याधुनिक आइसियु निर्माण भएसंगै बिरामीले आइसियु नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।
यो अस्पताललाई विशिष्टिकृत अस्पतालकारूपमा विकास गरिरहेको बताउँदै उप प्रमुख श्रेष्ठले चार बर्ष अघि सम्म घाटामा रहेको अस्पताल पछिल्लो समय सेवा सुविधा विस्तार गरेसंगै नाफा कमाउन सफल भएको बताए।
अस्पताल सञ्चालक हरिदाश प्रजापतिले केही बर्षको अवधिमा अस्पतालले लल्लेख्य प्रगति गरेको बताउँदै उच्च मनोवलका साथ सेवा दिनुपर्ने बताए। देशैभरीका विरामी उपचारका लागि आउने अस्पतालले दैनिक १२ सय बिरामीको हाराहारीमा उपचार गर्दै आएको प्रजापतिको भनाई थियो। अत्याधिक मोडुलर आइसियु सञ्चालन गर्न सफल भएको बताए।
अस्पतालका कार्यकारी निर्देशक डा. डिके रोशनले यस वर्ष अस्पतालले विकास तथा उन्नतिको वर्ष घोषणा गरिएको जानकारी दिए। सानो हेल्थपोष्टबाट २७ बर्ष अघि शुरू भएको अस्पतालले पछिल्लो चार बर्ष अस्पतालले ठुलो फड्को मारेको बताउँदै डा. रोशनले यसै अवधिमा सिटी स्क्यान,ब्लड बैंक, डाइलासिस सेवा शुरु गरिएको बताए। नगरपालिका, प्रदेश सरकारदेखि केन्द्र सरकारले समेत अस्पतालको विकासमा सहयोग रहेको उनको भनाई थियो।
जिल्ला जनस्वास्थ्य कार्यालयकि प्रमुख अन्जना खड्का, अस्पतालमा उदाहरणीय सेवा विस्तार भइराखेको बताउँदै आइसियु सेवा जिल्लामा कम भएका कारण अन्यत्र जानुपर्ने वाध्यता यसबाट हट्ने बताइन। स्थानीयले कम शुल्कमा गुणस्तरीय सेवा पाउने खड्काको भनाई थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नगर प्रबक्ता कृष्णहरी आचार्य लगायतका सबै वडाध्यक्षको उपस्थिति रहेको थियो।



