काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।
विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो।
विभागले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्न, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ।
त्यस्तै, भान्सा, खाना वितरण गर्ने स्थान र परिसर सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सफा भाँडाकुँडा र स्वच्छ पानी प्रयोग गर्न पनि सूचित गरेको छ।
सूचनाअनुसार खाद्य व्यवसायीले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई उपलब्ध गराउनुपर्नेछ। बासी, सडेगलेका, झिँगा भन्केका, धुलो तथा फोहोर पानी मिसिएका वा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री गर्न पाइने छैन।
साथै, खाद्य पदार्थको बिक्रीस्थलमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन र उचित मूल्यमा बिक्री गर्न पनि विभागले निर्देशन दिएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका प्रावधान पालना गर्न सचेत गराउँदै निर्देशन उल्लङ्घन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ।
यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताको आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ।
चाडपर्वका समयमा खाद्य पदार्थको खपत र यात्रुहरूको आवतजावत बढ्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले व्यवसायीको ध्यानाकर्षण गराएको हो।
चाडपर्वको समयमा यात्रुहरुले खाजा, खाने ठाउँमा बिक्री गरिने खाद्य पदार्थमा स्वच्छता र गुणस्तरीयता कायम राख्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निरीक्षण टोलीले असोज २८ गते खाद्य स्वच्छताका आधारमा धादिङ र चितवन जिल्लाका राजमार्गमा अवस्थित २६ वटा होटलहरुको स्तरिकरण सम्पन्न गरेको थियो।



