रसुवा। नेपाल रेडक्रस सोसाइटी, रसुवा जिल्ला शाखाले उत्तरगया गाउँपालिका–५ का भोटेकोसी बाढी प्रभावित ३०५ घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता वितरण गरेको छ।
रेडक्रसले बाढी प्रभावित प्रत्येक घरधुरीलाई १५ हजार रुपैयाँका दरले नगद सहायता उपलब्ध गराएको हो। यसअनुसार कुल ४५ लाख ७५ हजार रुपैयाँ बराबरको सहायता वितरण गरिएको छ।
बाढीबाट प्रभावित परिवारका तत्कालीन आधारभूत आवश्यकता पूरा गर्न तथा दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहायता प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी, रसुवा जिल्ला शाखाले जनाएको छ।
नगद सहायताबाट बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न तथा विपद्पछिको कठिन परिस्थितिमा दैनिक जीवनयापन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



