काठमाडौं। औषधि व्यवस्था विभागले औषधि आयात निर्यात सम्बन्धि सेवा अनलाइनबाटै प्रदान गर्ने गरेर राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू) लागू गरेको छ।
विभागले औषधि तथा औषधिजन्य सामग्रीको निकासी र पैठारीसम्बन्धी सेवाहरू अनलाइनमार्फत नै उपलब्ध हुने गरि सेवा सुरु गरेको हो। अब विभागले औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीको आयात–निर्यातसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र र प्रमाणपत्रलगायतका सेवा डिजिटल माध्यमबाट प्रवाह हुनेछ।
सो सम्बन्धि अनलाइन सेवाको औपचारिक शुभारम्भ बिहीबार गरिएको हो। बिजुलीबजारस्थित औषधि व्यवस्था विभागमा आयोजित समारोहबीच उक्त सेवाको शुभारम्भ गरिएको हो।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको अध्यक्षता तथा भन्सार विभागका महानिर्देशकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालय, भन्सार विभाग, राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू), औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नयाँ प्रणालीमार्फत औषधिजन्य कच्चा पदार्थ आयात, औषधि निर्यात, स्वास्थ्य प्रविधिजन्य सामग्री आयात, प्रयोगशाला परीक्षणका लागि आवश्यक नमुना तथा रेफरेन्स स्ट्यान्डर्ड आयात, बिरामीका लागि औषधि आयात र औषधि आयातका लागि विशेष सिफारिसपत्र प्राप्त गर्न अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस प्रणालीबाट सेवाग्राहीले आवश्यक विवरणसहित अनलाइन आवेदन पेस गर्न, सम्बन्धित कागजात अपलोड गर्न, लाग्ने राजस्व तथा शुल्क अनलाइन भुक्तानी गर्न र स्वीकृत सिफारिसपत्र तथा प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
अनलाइन सेवा सञ्चालनमा आएसँगै सेवाग्राहीले सम्बन्धित सेवा प्राप्त गर्न अपनाउनुपर्ने प्रशासनिक प्रक्रियामा सहजता आउने, समयको बचत हुने र प्रक्रियागत झन्झट कम हुने अपेक्षा गरिएको छ। यसले व्यापार सहजीकरण गर्नुका साथै सम्बन्धित सरकारी निकायबीचको समन्वयलाई समेत थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।
औषधि व्यवस्था विभाग, भन्सार विभाग र अर्थ मन्त्रालयबीचको सहकार्यमा अघि बढाइएको यो पहललाई नेपालमा डिजिटल सुशासन प्रवर्द्धन, व्यापारसम्बन्धी प्रक्रियाको आधुनिकीकरण तथा औषधि व्यवस्था विभागका सेवाको डिजिटल रूपान्तरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।




