काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि असोज १८ गते सोही समयसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो तथा जनावर आक्रमणका १९ वटा घटना भएका हुन्।
विपद्का ती घटनामा परी १२ जना घाइते भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिरहा, काठमाडौँ, चितवन, नवलपरासीपूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागीका घटना भएका छन्। यस्तै, तेह्रथुम, भोजपुर, नवलपरासीपूर्व, बाँके र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन्।
त्यसैगरी, ललितपुरमा पहिरो तथा कास्की र रुपन्देहीमा जनावर आक्रमणका घटना भएको प्राधिकरणले जनाएको छ।
विपद्का घटनामा परी घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक विवरणअनुसार विपद्का घटनाबाट करिब रु २८ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको छ।
प्राधिकरणले विपद्का घटनाबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन तथा विपद्का समयमा स्थानीय प्रशासन, सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ।



