मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त शर्माले सम्हाले जिम्मेवारी

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त शर्माले सम्हाले जिम्मेवारी

images
२०८३ आश्विन १२ गते, सोमवार
२०८३ आश्विन १२ गते, सोमवार
  • काठमाडौँ। नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा जिम्मेवारी सम्हालेका छन्।

    images

    इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले सोमबार (आज) देखि लागू हुने गरी शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो। सीईओ नियुक्त शर्माले आजैदेखि कार्यभार सम्हालेका हुन्।

    images

    शर्माको बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। उनले यो अवधिमा विभिन्न बैंक तथा वित्तिय संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन्। उनी ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङ क्षेत्रका अनुभवी मानिन्छन्।

    शर्माले डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा काम गरिसकेका छन्। उनले विगत २५ वर्षमा बटुलेको अनुभव र नेतृत्व क्षमताले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने, विगतका उपलब्धिलाई निरन्तरता दिने तथा डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई अझ बलियो बनाउने विश्वास सञ्चालक समितिले लिएको छ।

    यसैबीच, इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। वि.सं. २०७९ असोज १२ मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका खड्काले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेका हुन्। उनको व्यवस्थापकीय नेतृत्वमा कम्पनीले सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरा उल्लेख्य रूपमा विस्तार गरेको थियो।

    खड्काको कार्यकालमा इसेवामा दर्ता हुने प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चेन्टको सङ्ख्या ६ लाख नाघेको छ। साथै, उनको कार्यकालमा डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा र इन्स्योरेन्स प्रोडक्टजस्ता विविध फिचरहरू विस्तार गरिएका थिए।

    दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालन गरी वित्तीय सेवालाई समावेशी बनाउन पनि उनले नेतृत्व गरेका थिए।

    ‘सबै, सधैँ, सँगै’ भन्ने ब्रान्ड प्रमिसलाई आत्मसात् गर्दै उनले हासिल गरेका उपलब्धिहरूले इसेवाको आगामी यात्राका लागि थप बलियो आधार तयार गरेको इसेवाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend