भक्तपुर। भक्तपुरको गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी २१ वर्षीय युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे उक्त दुर्घटना भएको हो। दुर्घटनामा परेर मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई तत्काल उपचारका लागि भक्तपुरस्थित अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका युवकले बुलेट मोटरसाइकल चलाएका थिए। उनले चलाएको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
यसैबीच, गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।



