काठमाडौँ। मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले धनकुटाको एक विद्यालयलाई रु. ५ करोड सहयोग गरेका छन्।
डा. शर्माले धनकुटाको पाख्रिबास १० चुङमाङस्थित भारती माध्यमिक विद्यालयलाई ३ करोड रुपैयाँ र २ करोड बराबरको छात्रवृत्ति सहयोग गरेका हुन्।
उनले आफ्ना पुर्खा हजुरबुबा गुनलाल र जिजुबुबा गणपति न्यौपानेको स्मृति र सम्मानलाई पुस्तौँसम्म जीवित राख्ने उद्देश्यले सहयोग गरेपछि विद्यालयको नाम ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम भएको छ।
"आर्थिक अभावकै कारण कुनै प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित नहोस् भन्ने तर्फ मेरो निरन्तर प्रयास रहनेछ। शिक्षामा गरिएको लगानी नै समाज परिवर्तनको सबैभन्दा दीर्घकालीन लगानी हो। चुङमाङ र आसपासका विद्यार्थीहरूको सपना पूरा गर्ने यात्रामा सानो भए पनि योगदान गर्न पाउँदा मलाई गर्व लागेको छ।" सहयोग हस्तान्तरणपछि सम्बोधनका क्रममा उनले भने।
डा. शर्मा राजनीतिसँगै सामाजिक कार्यमासमेत निरन्तर सक्रिय छन्। उनले गरिब तथा असहाय ब्यक्तिहरुलाई आफ्नो अस्पतालमा निशुल्क उपचारसमेत प्रदान गर्दै आइरहेका छन् भने रसुवा भोटेकोशी बाढीमा घाइते भएकाहरूकोसमेत निशुल्क उपचार गर्ने घोषणा गरेका थिए।
डा. शर्माको काठमाडौँ, भक्तपुर र विराटनगरमा अस्पताल संचालनमा छ।



