काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा अभियन्ता महावीर पुनबीच सुरुङ उद्धार उपकरण हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
चीन सरकारले नेपालमा हालैको प्राकृतिक विपद्पछिको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले यी उपकरणहरू उपलब्ध गराएको हो।
कार्यक्रममा चिनियाँ राजदूत चाङ माओमिङले नेपालको विपद् व्यवस्थापन तथा उद्धार कार्यमा खटिएका चिनियाँ सुरुङ उद्धार विज्ञहरूको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गरे।
विनाशकारी पहिरो तथा बाढीका कारण उत्पन्न विषम परिस्थितिमा चीन सधैँ नेपालको साथमा रहेको उल्लेख गर्दै राजदूतले आगामी दिनमा पनि थप सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।
चीनले आपत्कालीन विपद् व्यवस्थापनका साथै विपद्पछिको पुनर्निर्माण कार्यमा समेत नेपाललाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताएको छ।
उक्त हस्तान्तरणले नेपालको उद्धार क्षमता अभिवृद्धि हुनुका साथै दुई देशबीचको घनिष्ठ सम्बन्ध र विपद् व्यवस्थापनमा सहकार्य थप मजबुत हुने विश्वास लिइएको छ।




