काठमाडौँ। सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि पठाएको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले बिभिन्न १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सिफारिसमा पर्नेहरूमा भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण छन्।
यसैगरी, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।



