काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन्।
उनको भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले बिहीवार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आज साँझ ५ बजे भारतीय समकक्षी रमणसँग भेटवार्ता गर्नेछन्।
यसैगरी उनी शुक्रवार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता तय भएको छ।
शुक्रबार नै साँझ साँढे बजे भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन् भने शनिबार विहान साँढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
सोही दिन साँढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ भने साँझ ४ बजे उनी स्वदेश फर्किने छन्।
अर्थमन्त्री डा. वाग्लेको भ्रमण टोलीमा मन्त्रालयका
सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका
सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदूताबास नयाँदिल्लीका उप नियोग प्रमुख डा.सुरेन्द्र थापा, दुदावासकै इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी, उपसचिव कञ्चन बस्नेत, निजी उप सचिव लगायत सहभागी छन्।



