काठमाडौँ। विश्वका एक सय देशका भास्कुलर चिकित्सक तथा विज्ञहरुको सहभागितामा नेपालमा `हिमालयन इन्टरनेशनल भास्कुलर समिट´को दोस्रो संस्करण आयोजना हुने भएको छ।
आगामी चैत ३ देखि ७ गतेसम्म आयोजना हुने `हिमालयन इन्टरनेशनल भास्कुलर समिट २०२७´ समिटमा अमेरिका, बेलायत, भारत, अर्जेन्टिना, टर्की लगायतका देशबाट विज्ञ चिकित्सक तथा वज्ञानिकहरु सहभागी हुँदै छन्। नेपालीसहित सम्मेलनमा एक हजार भन्दा बढीको सहभागिता हुनेछ।
समिट आयोजक कमिटिका अध्यक्ष तथा वरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेका अनुसार समिटका लागि बुधबारसम्म ६० भन्दा बढी देशबाट प्रतिनिधित्वका लागि रजिष्ट्रेसन भइसकेको छ।
समिटमा भास्कुलर सर्जन, कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, भास्कुलर तथा कार्डियाक सर्जरी फेलो, सर्जिकल रेसिडेन्ट, नर्स प्राक्टिसनर, फिजिसियन असिस्टेन्ट र नर्सलगायत स्वास्थ्यकर्मी तथा वैज्ञानिकहरु सहभागी हुनेछन्। यसैगरी भास्कुलर सम्बन्धि समस्या निको भएका केही प्रतिनिधि बिरामीहरुसमेत सहभागी हुनेछन्।
`नेपालमा एक सय भन्दा बढी देशका भास्कुलर सम्बन्धि विज्ञ चिकित्सकहरुको हिमभासमा सहभागिता हुँदैछ, अहिलेसम्म ६० भन्दा बढी देशबाट प्रतिनिधित्वका लागि रजिष्ट्रेसन भइसकेको छ, जहाँ एकै मन्चमा सय देशका हजार एजेन्डा उठ्ने छन्, समिटमा ३०० भन्दा बढी पेपर र पोस्टर प्रस्तुत हुनेछ।´ समिट आयोजक कमिटिका अध्यक्ष डा. पाण्डेले बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिंदै भने।
डा. पाण्डेले हिमभासमा भास्कुलर सम्बन्धि विषयमा अध्ययन अनुसन्धान गरिएका प्रतिवेदनहरु पेश हुने जानकारी दिए। यसैगरी विश्वमा भएका उपचार अनुभवहरुसमेत समिटमा साटासाट हुनेछ। भास्कुलर विषय मानव शरीरको शीरदेखि पाउसम्म बहने विभिन्न नलीहरुको अध्ययन अनुसन्धान र उपचार गर्ने विधा हो।
समिटमा अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारत र संयुक्त अरब इमिरेट्स (युएई) जस्ता देशका विशेषज्ञ सहभागी हुनेछन्।
त्यस्तै बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञहरुको सहभागिता सुनिश्चित भइसकेको छ।
यसअघि सन् २०२४ मा काठमाडौंमा हिमभासको पहिलो संस्करण आयोजना भएको थियो। सो संस्करणमा ४३ देशका विज्ञ चिकित्सकसहित करिब ३५० जनाको सहभागिता थियो।
पहिलो समिट गरेयता तीन सय विदेशी बिरामीले नेपालमा आएर उपचार गराएको आफ्नो जानकारीमा भएको डा. पाण्डेले जानकारी दिए। उनका अनुसार भारत, भुटान, बंगलादेश मात्र नभएर मध्यपुर्वका देश मलेसिया, इण्डोन्सिया, टर्की,सहित केही युरोपका देशहरूबाटसमेत नेपालमा सस्तो र सहज सहज रुपमा उपचार हुने अपेक्षासहित बिरामीहरू आएको पाइएको उनको भनाइ छ।



