काठमाडौँ। भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीसहितको टोलीले चिलिमे हाइड्रो पावरको सुरुङबाट थप चार शव निकालेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको संयुक्त टोलीले बुधबार खोज तथा उद्धारका क्रममा चार शव निकालेको हो। फेला परेका शव पुरिएको अवस्थामा रहेको बताइएको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ती शव मध्ये तीन वटा शव सग्लो अवस्थामा छन्। एउटा भने मानव अङ्ग भेटिएको हो। सुरुङको ७० मिटर भित्र छिरेर गोताखोरसहितको टोलीले ती शव निकालेका हुन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीले चिलिमे, त्रिशुली सहित रसुवा र नुवाकोटका विभिन्न हाइड्रोपावरमा क्षति पुर्याएको थियो। हालसम्म बाढीमा परेका १४ सय भन्दा बढीको शव फेला परेको प्रहरीले जनाएको छ।



